Kathmandu Press

राष्ट्रहित र स्वार्थको संरक्षणमा सदैव तयार रहनु सेनाको कर्तव्य : प्रधानसेनापति शर्मा 

काठमाडौं, भदौ २६ : नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले नेपालको संविधानले नेपाली सेनालाई देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा तथा...
राष्ट्रहित र स्वार्थको संरक्षणमा सदैव तयार रहनु सेनाको कर्तव्य : प्रधानसेनापति शर्मा 

काठमाडौं, भदौ २६ : नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले नेपालको संविधानले नेपाली सेनालाई देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा तथा जगेर्ना गर्न महत्त्वपूर्ण दायित्व सुम्पेको बताएका छन्।

प्रधानसेनापति शर्माले पदबहाली गरेपछि शुक्रबार सकल दर्जालाई पहिलोपटक सम्बोधन गर्दै जस्तोसुकै जटिल परिस्थितिमा समेत संवैधानिक दायित्वलाई प्रभावकारी रुपमा सम्पादन गर्दै राष्ट्रहित र स्वार्थको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव तयार रहनु सेनाको प्रमुख कर्तव्य भएको उल्लेख गरे।

नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारी निर्वाह गर्न चार मार्गनिर्देशक सिद्धान्तलाई प्रमुख आधारका रूपमा अंगीकार गरिने उनको भनाइ थियो। पहिलो, नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र राष्ट्रिय प्रतिरक्षा नीतिबाट निर्दिष्ट जिम्मेवारीप्रति प्रतिबद्धता। दोस्रो, सैनिक मूल्यमान्यता, संस्कृति, प्रचलन र परम्पराको जगेर्ना। तेस्रो, विद्यमान र सम्भावित सुरक्षा चुनौती सामना गर्न समयसापेक्ष रूपान्तरित, सक्षम, गतिशील र प्रभावकारी संगठनको विकास । र चौंथो, ‘बहुजन हिताय बहुजन सुखाय’ अनुसार विस्तारित कल्याणकारी कार्यमार्फत् सकलदर्जा र तिनका आश्रितको जीवनस्तरमा सुधार ।

‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षालगायत संविधानप्रदत्त सम्पूर्ण जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गर्न सक्षम, सुदृढ, आधुनिक र व्यावसायिक सैनिक संगठन तयार गरिनेछ,’ आफ्नो भिजन प्रस्तुत गर्दै उनले भने, ‘यसका लागि नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति र नेपाली सेनाको दीर्घकालीन सोच–२०८७ अनुसार समयानुकूल सांगठनिक सुदृढीकरण, जनशक्तिको विकास, स्रोत साधनको उचित व्यवस्थापन तथा प्रविधिको उच्चतम प्रयोगलाई संस्थागत गरिनेछ।’

उक्त ‘भिजन’लाई मूर्तरूप दिन राष्ट्रिय सुरक्षा, संगठन सञ्चालन, व्यावसायिक तालिम, पेसागत वृत्तिविकास, सबल बन्दोबस्ती प्रणाली र कल्याणकारी कार्यलाई प्राथमिकतामा राखी ६ वटा लक्ष्य केन्द्रित कमाण्ड नीति तथा मार्गनिर्देशन–२०७८ जारी गरिएको उनले बताए।

प्रधानसेनापति शर्माले सरकारद्वारा जारी ‘राष्ट्रिय सुरक्षा नीति’ र ‘राष्ट्रिय प्रतिरक्षा नीति’ अनुरूप ‘राष्ट्रिय सैनिक रणनीति’को निर्माण र वैधता प्राप्त गर्दै सैनिक मूलग्रन्थ पुनरावलोकन गरिने र यिनै नीति, रणनीति र मूलग्रन्थलाई आधार मानेर ३ जोड १ कमान्डको सफल कार्यान्वयन गरिँदै लगिने स्पष्ट पारे।

नेपाली सेना ऐतिहासिक कालखण्डदेखि नै पद्धति र प्रणालीमा आधारित संगठन रहेको र यसमा सेना सदैव कटिबद्ध रहने विश्वास उनले व्यक्त गरे।

साथै संगठन सामूहिक भावनाबाट चल्ने भएकाले संगठनलाई सुदृढ र सशक्त बनाउन सामूहिक भावनाअनुरुप निर्णयहरु गरिने र नेपाली सेनाले चेन अफ कमाण्डलाई पूर्ण रुपमा अबलम्बन गर्दै कुनै पनि किसिमका सैनिक अनुशासन, पदीय मर्यादा र आचरणविपरीतका गतिविधि तथा संगठनलाई सीमित समूहको हितमा उपयोग गर्ने र फौजको मनोबल गिराउनेजस्ता अवाञ्छित गतिविधि क्षम्य नहुने स्पष्ट पारे।

आफ्नै व्यवस्थापनमा अध्ययन गरिरहेका हिताधिकारीहरुका एक सन्ततीलाई कक्षा ६ देखि १२ सम्म अध्ययन गर्न वार्षिक २० हजारका दरले सैनिक कल्याणकारी छात्रवृत्ति उपलब्ध गराउदै आईरहेकोमा २०७९ को शैक्षिक सत्रदेखि कक्षा ४ र ५ मा अध्ययन गरिरहेका हिताधिकारीका सन्ततीलाई समेत वार्षिक २० हजार रुपैयाँ प्रदान गरिने उनले बताए।

त्यसैगरी लुम्बिनी प्रदेशको उपयुक्त स्थानमा एउटा सैनिक महाविद्यालय स्थापना गरी शैक्षिक सत्र २०८० बाट संचालन गरिने पनि उनले जानकारी दिए।

उनका अनुसार स्वास्थ्य क्षेत्रमा सेवा विस्तारका लागि लुम्बिनी प्रदेशमा २५ शैयाको फिल्ड अस्पताल स्थापना गरी सेना दिवस २०७९ बाट संचालन गरिनेछ भने श्री वीरेन्द्र अस्पतालमा मुटुरोग निदान र उपचारको लागि ल्याब स्थापना गरिनेछ। साथै श्री त्रिचन्द्र मिलिटरी अस्पतालको सुविधा विस्तार गरिनुका साथै श्री वीरेन्द्र अस्पताल र उपत्यका बाहिर अक्सिजन प्लाण्टको स्थापना गरिनेछ।

सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेकाहरुलाई वार्षिक रुपमा ५ हजार रुपैयाँ दिँदै आएकोमा २०७८ असोज १ गतेदेखि वार्षिक १२ हजार उपलब्ध उपलब्ध गराउने घोषणा उनले गरे। त्यस्तै १० वर्ष वा सोभन्दा बढी सेवा अवधि पुरा गरेका सकल दर्जाहरुलाई आवास निर्माणका लागि २५ लाखसम्म सहुलियतपूर्ण ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने पनि उनले बताए।

सेनाको शिक्षार्थी संख्या ५७ बाट बढाएर ७७ पु¥याउने, शान्ति सेनामा सकल दर्जाको समतामूलक सहभागिताका लागि थप प्रयास गरिने उनकोभनाइ थियो।

प्रकाशित मिति: १३:१६ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्