ग्यासको लाइनभन्दा मन्त्रीको लाइन बढी हुने भयो : आशिका तामाङ
‘यो त लासामा सुन छ, कान मेरो बुच्चै जस्तो भएन र सभामुख महोदय ? के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त?’ उनले प्रश्न गर्दै भनिन्।
काठमाडौं, भदाै २६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा देखिएको ग्यास अभाव र कालोबजारीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले आफूलाई दैनिक हजारौं नागरिकले ग्यास नपाएको गुनासो गर्ने गरेको बताइन्। पसलमा ग्यास हुँदाहुँदै पनि व्यापारीले बिक्री नगरेको गुनासो आउने गरेको उनको भनाइ थियो।
‘मलाई दिनमा हजारौं कल आउँछन् आशिका दिदी, पसलमा ग्यास छ तर पसलेले ग्यास बेच्न मान्दैनन्,’ उनले भनिन्।
उनले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर नागरिकलाई दुःख दिने प्रवृत्तिप्रति प्रश्न उठाउँदै सरकारभन्दा माफिया शक्तिशाली भएको हो कि भन्ने आशंका व्यक्त गरिन्।
‘यो त लासामा सुन छ, कान मेरो बुच्चै जस्तो भएन र सभामुख महोदय ? के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त?’ उनले प्रश्न गर्दै भनिन्।
ग्यास अभावका कारण पसलमा ग्यास देख्दादेख्दै पनि जनता भोकभोकै बस्नुपर्ने अवस्था आएको भन्दै उनले सरकारको जवाफ मागिन् । जनताले दुई तिहाइ मत दिएर निर्वाचित गरेका प्रतिनिधिले यस्तो अवस्था हेर्नुपर्ने हो कि होइन भन्ने प्रश्नसमेत उनले उठाइन् ।
यदि वास्तवमै ग्यासको अभाव भएको हो भने सरकारले तत्कालै ग्यास उपलब्ध नभएको औपचारिक घोषणा गर्नुपर्ने उनको भनाइ थियो । त्यस अवस्थामा नागरिकलाई वैकल्पिक रूपमा दाउरा प्रयोग गरेर खाना पकाउन भन्नसमेत सरकार तयार हुनुपर्ने उनले बताइन् ।
‘यदि साँच्चिकै ग्यास छैन भने आजै, अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्यो । जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्न सक्नुपर्याे,’ तामाङले भनिन् ।
उनले ग्यासको समस्या समाधान नगरी पटक–पटक मन्त्री परिवर्तन गर्ने प्रवृत्तिप्रति पनि व्यंग्य गरिन् ।
महिनैपिच्छे ग्यासका लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुने बताइन् ।
उनले भनिन्, ‘महिनौंपिच्छे ग्यासको लागि मात्र मन्त्रीहरु परिवर्तन गर्दै जााने हो भने ग्यासको लाईन भन्दा मन्त्रीहरुको लाइन बढी हुने छ ।’











