जोरपाटी–सुन्दरीजल सडक विस्तार नहुने
काठमाडौं, साउन ९ : जोरपाटी–सुन्दरीजल आठ किलोमिटर सडक विस्तार नहुने भएको छ। स्थानीय बासिन्दाले मुआब्जा वितरण गरेपछि मात्रै घर भत्काउनु पर्ने अडान....

काठमाडौं, साउन ९ : जोरपाटी–सुन्दरीजल आठ किलोमिटर सडक विस्तार नहुने भएको छ। स्थानीय बासिन्दाले मुआब्जा वितरण गरेपछि मात्रै घर भत्काउनु पर्ने अडान लिएपछि विस्तार गर्न नसकिने भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।
आयोजनाले सडक २२ मिटर चौडा बनाउने तय गरेको थियो। त्यसका लागि आठ सय ८५ घर भत्काउनु पर्नेछ। यसका लागि स्थानीय बासिन्दालाई मुआब्जा दिनुपर्नेछ।
स्थानीय बासिन्दाले मुआब्जा दिएपछि मात्रै घर भत्काउन दिने अडान लिएका छन्। स्थानीय बासिन्दाको विरोधपछि सडकलाई कसरी चौडा बनाउने भन्ने विषयले फाइल अगाडि बढाउन नसकिएको आयोजनाका प्रमुख अर्जुन अर्यालले बताए। यो सडक विस्तारबाट हामीले हात झिकिसकेका छौं, अब मन्त्रालयले के निर्णय गर्छ। त्यसमा भर पर्छ,’ अर्यालले भने।
स्थानीय बासिन्दाले सर्वोच्च अदालतमा रिट पनि दायर गरेका छन्। यससम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधिन छ। यो सडक निर्माणका लागि आशिष सि.एम. जेभीसँग २०७३ असार ३ गते २६ करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो। जसअनुसार, २०७५ भदौ ३ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने उल्लेख थियो।
काम हुन नसकेपछि २०७६ असार ३१ दोस्रो सम्झौता भएको छ। दोस्रो सम्झौता भएपनि हाल काम अगाडि बढ्न सकेको छैन। करिब १५ प्रतिशत मात्र काम भएको आयोजनाले जनाएको छ।
दोस्रो सम्झौता खारेज हुने निश्चित भएको आयोजनाले जनाएको छ। ‘अब आयोजनाले काम गर्न नसक्ने भएको छ। यस विषयमा अब मन्त्रालयनै नियन्त्रण गर्नेछ,’ आयोजनाका प्रमुख अर्यालले बताए।
उनका अनुसार, अहिले आयोजनासँग तीन विकल्प छन्। अहिलेकै बाटोलाई मर्मत गर्ने, मुआब्जा दिएर २२ मिटरकै बनाउने वा त्यतिक्कै छोड्ने। जे गरेपनि तत्काल बन्न अवस्था नरहेको उनले बताए। ‘कालोपत्रे भए पनि दशैपछि हुनसक्छ,’ उनले भने।












