सरकारको प्राथमिकता खोप खरिद, सरकारी खर्च कटौती
सरकारले सरकारी बैठक भत्ताहरू कटौती गर्दै कोरोनाविरुद्धको खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ विनियोजन गरेको छ।
काठमाडौं, भदौ २५ : सरकारले सरकारी बैठक भत्ताहरू कटौती गर्दै कोरोनाविरुद्धको खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
एमाले सांसदहरूको अवरोधबीच प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बैठक, इन्धनलगायत भत्ता कटौती गरी खोप खरिदलाई प्राथमिकता दिएको बताएका हुन् ।
त्यस्ता भत्ता कटौती गर्दा उक्त परिमाणमा रकम सञ्चित हुने उनले बताए । ‘चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, कर्मचारी तालिम, सीप विकास, जनचेतना तालिम, अनुगमन मूल्यांकन भ्रमण खर्च, विविध कार्यक्रम शीर्षकमा न्यूनमत १० प्रतिशत बजेट कटौती गरेको छु,’ उनले भने, ‘यसरी खर्च कटौती गर्दा तत्काल बचत हुन आउने देखिएको पाँच अर्ब रुपैयाँ कोभिड–१९ विरुद्धको खोप खरिदमा उपयोग गर्ने प्रबन्ध मिलाएको छु ।’
सरकारले बजेट अंक परिमार्जन गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । ऋणको लक्ष्य ३७ अर्बले घटाइएको अर्थमन्त्री शर्माले बताए ।
यस्तै, सरकारले सहरी विपन्न नागरिकलाई काठमाडौंका १० स्थानमा खाना खुवाउने व्यवस्था मिलाउने उनले बताए । त्यसका लागि सामाजिक संघसंस्थाको सहयोग लिइने उनले उल्लेख गरे ।
यसैगरी, राजनीतिक परिवर्तनका आन्दोलनमा बलिदान गर्नेका परिवारलाई मासिक तीन हजार रुपैयाँ भत्ता कार्यक्रम अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमा ल्याएका छन् ।
कोरोना महामारीका कारण रोजगारी र आम्दानी गुमाएका अनौपचारिक र असंगठित क्षेत्रका गरिब र विपन्न परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ अनुदान दिने कार्यक्रम पनि अर्थमन्त्रीले घोषणा गरे ।
यस्तै, क्यान्सर र मिर्गौलाको गम्भीर रोगी र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने घोषणा पनि उनले गरे ।



-1765194974.jpg)





-1765194974.jpg)


