शव भेटिएका चारमध्ये तीन मजदुरको सनाखत, वेपत्ता सातको खोजी जारी (अपडेट)
लमजुङ, साउन ९ : लमजुङको दोर्दी खोलामा हिजो आएको बाढीले बगाउदा मृत्यु भएका चार जनामध्ये तीनको सनाखत भएको छ। बाढीमा वेपत्ता सात जनाको खोजी भइरहेको छ।
लमजुङ, साउन ९ : लमजुङको दोर्दी खोलामा हिजो आएको बाढीले बगाउदा मृत्यु भएका चार जनामध्ये तीनको सनाखत भएको छ। बाढीमा वेपत्ता सात जनाको खोजी भइरहेको छ।
हिजो साँझ आएको बाढीले दोर्दी गाउँपालिकास्थित दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत १९ जना मजदुरलाई बगाएको थियो। जसमध्ये आठ जनाको सकुसल उद्धार गरिएको थियो। त्यसमध्ये चार जनाको शव भेटिएको छ भने सात वेपत्ता छन्।
त्यसमध्ये सनाखत भएका तीन जनामा पर्साका २८ वर्षीय शिवधन चौधरी, डडेलधुराका ३४ वर्षीय रमेश बुढा र सप्तरीका ५० वर्षीय भुवनेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, दोर्दीले बगाएका सात जना अझै वेपत्ता भएका छन्। उनीहरूको खोजी भइरहेको छ। उनीहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्।
त्यस्तै, दोर्दीले बगाउदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाएको छ।
तीन जना भने सामान्य घाइते रहेका छन्। घाइतेको टाउको, ढाड, खुट्टालगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ।
उनीहरू सबैको बेसिंशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय, लमजुङका डीएसपी रविन्द्र गुरुङले बताए।
घाइते विभिन्न जिल्लाको रहेका छन्। उनीहरू सबै आयोजनामा कार्यरत मजदुर रहेकाे जनाएकाे छ।






