एमसिसी उपाध्यक्ष फतिमा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता
काठमाडौं, भदौ २४ : अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फतिमा सुमार र एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता...
काठमाडौं, भदौ २४ : अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फतिमा सुमार र एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ।
चारदिने भ्रमणमा आज (बिहीबार) बिहान मात्रै नेपाल आइपुगेकी फतिमा अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेकी हुन्। नेपाल आएपछि उनले पहिलो राजनीतिक भेट ओलीसँग गरेकी हुन्। उनीसँगै एकसिसीकै नायब उपाध्यक्ष जोनाथन ब्रुक्सलगायत पनि बालकोट पुगेका छन्।
छलफलमा एमालेका तर्फबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराईलगायत सहभागी रहेको जनाइएको छ।
ओलीसँगको भेटपछि उपाध्यक्ष फतिमा याक एन्ड यती होटलमा रहेको एमसिसी नेपालको कार्यालयमा जाने कार्यक्रम छ।
फतिमाले भोलि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायत नेताहरुसँग भेटघाट गर्ने कार्यक्रमछ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भोलि ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमै भेट्ने जनाइएको छ।
एमसिसी सम्झौतालाई नेपालको संसदबाट पारित गर्नुपर्ने अमेरिकी दबाब रहेको छ। एमसिसीलाई लिएर राजनीतिक दलहरूबीच बैग्लाबेग्लै मत रहेका छन्। विभिन्न व्यक्तिहरूलाई भेटेर एमसिसीबारे छलफल गर्ने उद्देश्यले फातिमाले नेपाल भ्रमण गरेकी हुन्।
सत्तामा हुँदा एमाले अध्यक्ष ओली एमसिसी पारित गर्नुपर्ने पक्षमा उभिएका थिए तर सत्ताबाट बाहिरिएसँगै उनले त्यसलाई पारित गर्न अहिलेको सरकार अग्रसर हुनुपर्ने बताउँदै आएका छन्।
प्रतिपक्षी दलको हैसियतले संसदमा एसिसीलाई लिएर कसरी प्रस्तुत हुने भनी आधिकारिक धारणा आउनुपर्ने भनी आफ्नै सांसदहरूले माग गरिरहँदा पनि ओली मौन बस्दै आएका छन्।
त्यसकारण एमसिसीबारे एमालेमा कुनै आधिकारिक निर्णय हुन सकेको छैन। यस्तो अवस्थामा फतिमा र ओलीको भेटलाई विशेष चासोका साथ हेरिएको छ।
ओलीले उपाध्यक्ष फतिमासँग एमसिसीका बारेमा सत्ता पक्षले आफ्नो पोजिसन क्लियर गरेपछि मात्रै एमालेले त्यसबारे निर्णय लिने बताएका छन्।











