महामन्त्रीमा उम्मेदवारी दिने कांग्रेस प्रवक्ता शर्माको घोषणा
काठमाडौं, भदौ २४ : कांग्रेस नेता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्।बिपी स्मृति दिवसको अवसरमा आज (बिहीबार) सुन्दरीजल...
काठमाडौं, भदौ २४ : कांग्रेस नेता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्।
बिपी स्मृति दिवसको अवसरमा आज (बिहीबार) सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर पार्टी प्रवक्तासमेत रहेका शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
‘मैले उपयुक्त समयमा उम्मेदवारी दिन्छु भनेको थिएँ,’ उनले भने, ‘त्यसकारण आज महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको हुँ।’ पार्टीलाई तीनपटक चुनाव जिताउन आफूले उमेदवारी घोषणा गरेको दाबी शर्माले गरे।
रुद्राक्षको बिरुवा रोपेर त्यसमा पानी सिञ्चन गर्दै उमेदवारी घोषणा गरेका उनले युवाहरूमा जागरण ल्याई पार्टीमा नयाँ आकर्षण निर्माण गर्ने संकल्प गरे।
यसअघि कांग्रेस नेता गगन थापाले पनि आफ्नै वडामा आयोजित एक कार्यक्रमबीच महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
कांग्रेसको १४औं महाधिवेशन आगामी मंसिर १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।











