Kathmandu Press

मजदुर आन्दोलनले कृषि विश्वविद्यालयले पालेका गाई भैँसी भोकै

चितवन, भदौ २४ : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा कार्यरत दैनिक ज्यालादारी मजदुरले आन्दोलन गरेपछि त्यहाँ पालिएका गाई भैँसी भोकै भएका छन्। गोठमा...
मजदुर आन्दोलनले कृषि विश्वविद्यालयले पालेका गाई भैँसी भोकै

चितवन, भदौ २४ : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा कार्यरत दैनिक ज्यालादारी मजदुरले आन्दोलन गरेपछि त्यहाँ पालिएका गाई भैँसी भोकै भएका छन्। गोठमा काम गर्ने करार र स्थायी मजदुरलाई पनि आन्दोलनरत मजदुरले नियमित काम गर्न नदिएको विश्वविद्यालयले जनाएको छ। 

विश्वविद्यालयमा ११५ जना दैनिक ज्यालादारीमा काम गर्ने मजदुर रहेका छन्। उनीहरुको माग करार नियुक्ति पाउनुपर्ने छ। आन्दोलनरत मजदुरले यही भदौ २० गते विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिन, सहायक डिन र प्रशासकको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलन थालेका हुन्। विश्वविद्यालयको पशुविज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान संकायका डीन डा होमबहादुर बस्नेतका अनुसार चार दिनदेखि पानी खान नपाएका गाई भैँसीलाई आज बिहान मजदुरले दाना पानी दिएको बताए। 

आन्दोलनरत मजदुरलाई निकै अनुरोधपछि दाना पानी दिने व्यवस्था मिलाइएको उनको भनाइ छ। चार दिनसम्म दानापानी खान नपाएपछि गाई भैँसीको अवस्था दयानीय बनेको छ। उनले भने, ‘मजदुरले दूध दुहेर नालीमा फाल्दै आएकामा निकै अनुरोध पछि बंगुरका बच्चालाई दिइएको छ।’ दैनिक ७० लिटर दूध हुने गरेकामा अहिले ३० लिटर हाराहारीमा उत्पादन हुने गरेको बस्नेत बताउँछन् ।

गोठमा एक सातामा छ भैँसी ब्याएका छन्। चौध ब्याउने अवस्थामा छन्। रामपुरको गोठमा मात्र ६५ भैँसी रहेको उहाँको भनाइ छ। गोठमा हालै मात्र उन्नत जातका पाँच गाई ल्याइएको छ। गोठमा १९ गाई छन्। गाईभैँसी ब्याउने समय भएकाले आन्दोलनका कारण ती पशु प्रभावित भएका छन्। यससँगै अध्ययनका लागि २६ बंगुर, छ बाख्रा, १० कुखुरा, स्थानीय सुंगुर छ, हालै रु १ लाख ५० हजारमा खरिद गरेर ल्याइएको एउटा राँगो र २० भेडा छन्। ती पशुचौपायालाई नियमित दानापानी र चरिचरण बन्द गरेपछि पूर्ण रुपमा प्रभावित बनेको उनी बताउँछन्। 

गाईभैँसी मर्ने अवस्था देखिएपछि मजदुरलाई अनुरोध गरेर आज बिहानबाट दानापानी नरोक्न भनिएको बस्नेतको भनाइ छ। गोठमै रहेका बस्नेतले भने, ‘यो अत्यावश्यक क्षेत्र भएकाले काम नरोक्न अनुरोध गरेका छौँ ।’ गोठमा २६ मजदुर काम गर्दछन् । ती मध्ये १४ दैनिक ज्यालादारीका हुन्। बाह« जना करारका रहेका छन्। अन्य विभागमा काम गर्ने आन्दोलनरत मजदुरले समेत त्यहाँ सहभागी भएर धर्ना दिएको उनले जानकारी दिए। 

कानूनमा श्रेणीबिहीन कर्मचारीलाई करारमा नियुक्त गर्न नमिल्ने भएकाले समस्या परेको बस्नेत बताउँछन्। आन्दोलनरत मजदुर घनश्याम न्यौपानेले आफूहरुले पशु चौपायाको दानापानी नै प्रभावित हुनेगरि आन्दोलन नगरेको जिकिर गरे। विश्वविद्यालय प्रशासनले आफूहरुको मागको वेवास्ता गरेपछि आन्दोलन गर्न बाध्य भएको न्यौपानेले बताए। माथिल्लो तहका केही मजदुरलाई करारका लागि प्रक्रिया अघि बढाइएको भए पनि योग्यता भएर पनि अन्यले अवसर नपाएको न्यौपाने बताउँछन्। 

विगत केही वर्षयता सो विश्वद्यिालयमा विभिन्न नाममा आन्दोलन हुँदै आएको छ। गतवर्ष भर हुन नसकेको सिनेट बैठक हालै मात्र भएको छ। विश्वविद्यालयका पदाधिकारी जिम्मेवार नहुँदा समस्या समाधानको सट्टा बढ्दै गएको त्यहाँ कार्यरत प्रध्यापकहरु बताउँछन्। 
 

प्रकाशित मिति: ११:२४ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्