सरकारलाई देउवाको आग्रह–हेलिकप्टरबाट निरीक्षण होइन जनतालाई राहत देऊ
काठमाडौं, साउन ८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरो पीडितहरुलाई राहत उपलब्ध गराउन नसकेको आरोप लगाएका छन्....

काठमाडौं, साउन ८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरो पीडितहरुलाई राहत उपलब्ध गराउन नसकेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै देउवाले बाढी र डुवान पीडितहरुले खाद्यान्न, पाल लगायतका कुनै पनि राहतका सामग्री पाउन नसकेको बताएका हुन्। ‘सरकार भनेको जनतालाई दुःख परेका बेला त्यहाँ पुगेर जनताको सेवा गर्ने हो,’ देउवाले भने,‘सरकारको यो कर्तव्य हो किन सरकारले ध्यान दिन सकेको छैन। यस्तो अवस्थामा पनि सरकार कहाँ छ?’
उनले सत्तापक्षका केही नेता तथा मन्त्रीहरु बाढी, पहिरो तथा डुवान क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गरेर मात्रै फर्किएको प्रति आपत्ति जनाए। ‘जनता दुखमा छन्। तर, केही नेता तथा मन्त्रीहरु हेलिकप्टरबाट निरीक्षण गरेर फर्किए,’ देउवाले प्रश्न गर्दै भने,‘जनतालाई उचित राहत दिनु पर्दैन?’
उनले सरकारले बाढी, पहिरो र डुवान पीडित जनतालाई सरकारले कुनै सहयोग नगरेको प्रति पनि आक्रोश पोखे। देउवाले रौतहट, जनकपुर, सिरहा, सर्लाही लगायतका डुवान क्षेत्रमा अझै पनि जान सकिने अवस्था नरहेको बताए।
‘बाढी, पहिरो र डुवान भएका क्षेत्रका जनताको निकै दुखमा छन्। यस्तो भयाभह स्थितिमा पनि सरकारले कुनै सहयोग गरेको छैन। जनतालाई सहयोग गर्ने पहिलो दायित्व राज्यको हो,’ देउवाले भने,‘राज्यले नगरे, एउटा पार्टीले मात्रै के गर्ने?’

-1784896419.png)









