संसदमा बाढीपहिरोसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेश
काठमाडौं, साउन ८ : संघीय संसदको प्रतिनिधिसभाको बैठकमा बाढी, पहिरो र डुबान पीडितको राहतका लागि ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ पेश ....
काठमाडौं, साउन ८ : संघीय संसदको प्रतिनिधिसभाको बैठकमा बाढी, पहिरो र डुबान पीडितको राहतका लागि ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ पेश गरिएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्रप्रसाद रिजालले बाढी, पीडित र डुबान पीडितको राहत, उद्धार र पुनस्थापनाका लागि प्रतिनिधिसभाको बुधबारबाट सुरु भएको बैठकमा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ पेश गरेका हुन्।
बाढी, पहिरो र डुबान पीडितलाई राहत, उद्धार तथा पुनस्थापनका लागि राष्ट्रिय सहमति जुटाउन संसदमा सो प्रस्ताव पेश गर्नु परेको पनि कांग्रेस नेता रिजालले स्पष्ट पारे। उनले जनतालाई राहत, उद्धार र पुनस्थापनाको उचित व्यवस्था गर्न पनि सरकार र प्रतिपक्ष दलहरुले मिलेर काम गर्नुपर्ने स्पष्ट पारे।
उनले सरकार एक्लैले सो विपत्तिको सामना गर्न नसक्ने भएकाले पनि संसदमा सो विषयमा छलफल गरेर अघि बढन आफूले सो प्रस्ताव पेश गरेको पनि उल्लेख गरे। उनले पीडामा परेका जनतालाई साथ दिन संसदबाटै सबै राजनीतिक दलहरुले एकतावद्ध भएर अघि बढने संकल्प गर्नुपर्ने बताए।
सांसद रिजालले बाढी, राहत र उद्धारमा सरकारले हालसम्म गरेका कामको जानकारी संसदलाई गराउन पनि गृहमन्त्री रामबहादुर थापासँग माग गरे। सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर जनताको पीडालाई सम्बोधन गर्न लाग्नुपर्ने पनि उनले बताए।
सांसद रिजालले पेश गरेको प्रस्तावमा राष्ट्रिय जनता पार्टी, नेपालका सांसद राजकिशोर यादवले समर्थन गरेका छन्। गत असार २७ गतेदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भाग बाढीपहिरो र डुबानमा परेर एक सयभन्दा बढीको मृत्यु भएको छ।






