Kathmandu Press

पार्टी फुटाउनु गलत कदम : नेता पाण्डे

पोखरा, भदौ २३ : एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुट गराउनु गलत भएको बताएका छन्।प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा बुधबार आयोजित...
पार्टी फुटाउनु गलत कदम : नेता पाण्डे

पोखरा, भदौ २३ : एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुट गराउनु गलत भएको बताएका छन्।

प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घर्षको इतिहास बोकेको पार्टी मजबुत बनाएर लैजानुको साटो फुटको बाटो रोज्नु कसैका लागि पनि हित नहुने बताए।

पार्टीमा हुने वैचारिक मतभेद आपसी छलफल एवं अन्तरक्रियाबाट समाधान गर्न पार्टी भित्रै अन्तरसंघर्ष गर्नुपर्ने अवस्थामा समग्र कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने गरी फुटका अवस्थामा लगिएको उनको भनाइ छ।

पार्टी एकता कार्यदलका सदस्यसमेत रहेका नेता पाण्डेले भने, ‘पार्टी एकताका सम्बन्धमा माधव नेपाल समूहले नै अघि सारेका छ बुँदालाई नै समेट्दै १०बुँदे खाका तयार गरिएको हो, जुन बुँदामा माओवादी केन्द्रबाट एमालेमा आएका नेता कार्यकर्तालाई पनि समेटेको छ। १०बुँदेलाई पनि आत्मसात् गर्न नसकी माधव नेपाल समूहले पार्टी फुटको अवस्थामा पुर्‍याएको छ।’

पार्टीमा समयसापेक्षरुपमा युवा जनशक्ति आउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले समयको मागलाई आत्मसात् गर्न सक्ने नेतृत्व वर्तमानको आवश्यकता भएको बताए। एकमना सरकारले समेत राज्यलाई सही निकास दिन अप्ठ्यारो परेको नेपालको वर्तमान अवस्थामा विभिन्न दल मिलेर बनेको गठबन्धन सरकारले समस्याको समाधान गर्न नसक्ने उनको भनाइ थियो। 

एक प्रश्नको जवाफमा उनले भने, ‘एमसिसीको विषय यसअघि नै संसदमा छलफल हुनुपर्नेमा जोड दिँदै उनले यसका गतल र सही पक्षबारे संसद्मै छिनोफानो गरी निष्कर्ष निकालेको भए अहिलेको अवस्था सिर्जना हुने थिएन।’
     
प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजाराम पौडेलले मुलुकको समसामयिक गतिविधि एवं यस क्षेत्रको पत्रकारिताको अवस्थाबारे जानकरी गराए। 

प्रकाशित मिति: १३:४८ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्