कर्णालीका ३५२ जनप्रतिनिधि एकीकृत समाजवादीमा
वीरेन्द्रनगर, भदौ २३ : कर्णाली प्रदेशका तीन सय ५२ जना स्थानीय तयहका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।नेकपा (एमाले) विभाजन भएर बनेको एकीकृत...
वीरेन्द्रनगर, भदौ २३ : कर्णाली प्रदेशका तीन सय ५२ जना स्थानीय तयहका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।
नेकपा (एमाले) विभाजन भएर बनेको एकीकृत समाजवादीमा सनाखत गर्न निर्वाचन आयोगले मंगलबारसम्मको समय दिएको थियो। जसअनुसार, कर्णालीका १० जिल्लाका तीन सय ५२ जनप्रतिनिधिले नयाँ पार्टीमा सनाखत गरेको निर्वाचन आयोग कर्णाली प्रदेश कार्यालयले जनाएको छ।
आयोगका अनुसार सबैभन्दा बढी सल्यानका ७६ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन्। २०७४ को निर्वाचनमा सल्यानमा एमालेका १४२ जनप्रतिनिधि निर्वाचित भएका थिए। यो एकीकृत समाजवादीका कर्णाली इन्चार्ज प्रकाश ज्वालाको जिल्ला हो।
त्यस्तै, कालीकोटमा ६५, दैलेखमा ६३, डोल्पामा ४२, जुम्लामा ४४, मुगुमा २९ र सुर्खेतमा १५ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन्। यस्तै, जाजरकोटमा १०, हुम्लामा पाँच जना र रुकुमपश्चिममा तीन जना जनप्रतिनिधि नयाँ पार्टीमा गएका छन्।
यससँगै कर्णाली प्रदेशसभाका तीन सांसद पनि एकीकृत समाजवादीमा गएका छन्। प्रदेश सभामा एमालेका १६ सांसद थिए। अब १३ मात्रै बाँकी रहेका छन्।
जुम्लाका सांसद पदमबहादुर रोकाया, रुकुम पश्चिमकी देवी ओली र मुगुका चन्द्रबहादुर शाही एकीकृत समाजवादीमा गएका हुन्।











