चितवनका ९० वडामा कांग्रेस अधिवेशन सम्पन्न
चितवन, भदौ २२ : नेपाली कांग्रेसको १४औँं महाधिवेशन अन्तर्गत जिल्लाका ९० वडाका अधिवेशन सम्पन्न भएका छन्। ती मध्ये ८३ सर्वसम्मत् र ७ मा निर्वाचनमार्फत...
चितवन, भदौ २२ : नेपाली कांग्रेसको १४औँं महाधिवेशन अन्तर्गत जिल्लाका ९० वडाका अधिवेशन सम्पन्न भएका छन्। ती मध्ये ८३ सर्वसम्मत् र ७ मा निर्वाचनमार्फत वडा समिति र क्षेत्रीय प्रतिनिधि छनोट गरिएको हो ।
कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले बाँकी ८ वडामा आज निर्वाचनको प्रक्रिया सुरुआत भएको जानकारी दिए। बाँकी रहेका वडामा राप्ती नगरपालिका–६, खैरहनी नगरपालिका–४, भरतपुर महानगरपालिका–४, ६, ७, १५, र १९ छन् । यस्तै माडी नगरपालिका–१ मा निर्वाचन आजै हुँदै छ। राप्ती र खैरहनीमा निर्वाचनको प्रक्रिया सुरु भइसकेको उनले बताए।
भरतपुर–४ र माडी –१ मा वडा समिति टुङ्गिएको र क्षेत्रीय प्रतिनिधिका लागि सर्वसम्मत्को प्रयास भइरहेको छ। अन्य बाँकी रहेका वडामा निर्वाचनको प्रक्रिया सुरु भइसकेको उनले बताए।
सभापति श्रेष्ठका अनुसार आज र भोलिमा वडा अधिवेशन टुङ्गो लाग्ने छ। जिल्लामा रहेका सात पालिकामा ९८ वडा छन्। वडा अधिवेशन सकिएसँगै नगर अधिवेशनको तयारी गरिने छ।
महाधिवेशनकै सिलसिलामा यही भदौ २७ गते नगर अधिवेशन हुने छ। जिल्लामा एउटा महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका छन्। अगामी असोज १ गते प्रदेशको अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेश कार्यसमिति बनाउने छ।
असोज ५ गते क्षेत्रको अधिवेशन हुने निर्वाचन तालिका छ। तालिका अनुसार असोज १० गते जिल्ला अधिवेशन हुने छ। जिल्ला सभापति पदमा ८ जनाको दाबी गरिरहेका छन्।











