एशियामा बलियो हुँदै मिटु अभियान
वुके-सी नयाँ चलचित्रका लागि भयानक कथाको खोजिमा थिइन्। तर आफ्नै चलचित्र उद्योगभन्दा टाढा जानु परेन।
ताइवानकी अभिनेत्री तथा पटकथाकार वुको नयाँ चलचित्र “न....
वुके-सी नयाँ चलचित्रका लागि भयानक कथाको खोजिमा थिइन्। तर आफ्नै चलचित्र उद्योगभन्दा टाढा जानु परेन।
ताइवानकी अभिनेत्री तथा पटकथाकार वुको नयाँ चलचित्र “निना वु” स्टारडमको खोजिमा हिँडेकी अभिनेत्रीको कथा हो जो जसलाई शक्तिमा रहेका एक पुरूषले दुर्व्यवहार गर्छन्। मानसिक चोट दिन्छन्।
वुले हलिवुडमा चलिरहेको ह्याशट्याग मिटु आन्दोलन पछ्याइन्। मनोरञ्जन उद्योगमा यौन दुर्व्यवहारबाट प्रभावित महिलाबारे केही लेख्ने निर्णय गरिन्। मिडी जीको निर्देशन रहेको उक्त चलचित्र सन् २०१९ को कान फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छानिएको छ।
“हार्भी वाइनस्टाइन काण्ड सार्वजनिक भएको दोस्रो वर्ष सन् २०१७ मा मैले धेरै दस्तावेज र अन्तर्वार्ता पढें। जे भयो त्यो जान्न म अत्यन्तै उत्सुक थिएँ,” वुले भनिन्। आफ्नो करियरमा धम्कीको सामना गरे पनि यौन दुर्व्यवहार नझेलेको उनले बताइन्। “अझै पनि हिनताबोध हुन्छ,” उनी भन्छिन्,“त्यसैले आफूलाई ती महिलासँग नजिक पाएँ।”
एशियामा आफ्नै ह्याशट्याग मिटु चलिरहेको छ। यहाँको घरेलु उद्योग पनि अमेरिका र अन्यत्र धेरैको करियर अन्त्य गरेको थुप्रै मुद्दासँग जुझिरहेको छ। यो वर्षको सुरूमा, के पप क्षेत्रमा हंगामा मच्चियो। दक्षिण कोरियामा दुई पुरूष स्टारलाई यौन दुर्व्यवहार गरेको आरोप लाग्यो।
गायक जुङ जून यङले महिलासँग यौन सम्पर्क राखेको भिडियो गोप्य रूपमा खिचेको र मोबाइलको म्यासेन्जर एपमा शेयर गरेको आरोप लाग्यो। उनले पीडितसँग माफी मागे। बिगब्याङ ब्यान्डका कान्छा सदस्य स्योङ्ग्रीले लगानीकर्तालई यौन सेवा दिलाउन खोजेको आरोग लाग्यो। उनले आरोप अस्वीकार गरेर समूहबाट अलग्गिएका छन्।
पोहोर भारतमा तनुश्री दत्ता चर्चामा रहिन्। अभिनेत्री दत्ताले सन् २००८ मा अभिनेता नाना पाटेकरले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएको बयानले भारतमा हलचल मच्चियो। पाटेकरले आरोप गलत भएको बताए। त्यसपछि सामाजिक सञ्जालमा भारतीय अभिनेत्री र लेखकले यौन दुर्व्यवहार र आक्रमणको कथाको बाढी नै ल्याए।
अभिनेता, गायक र चलचित्र निर्माता फरहान अख्तरले उद्योगमा अप्ठ्यारो स्थिति रहेको बताए। उनी संयुक्त राष्ट्र संघको “हि फर सि” दूत हुन्। आफैंले “मेन अगेन्स्ट रेप एन्ड डिस्क्रिमिनेसन” अभियान पनि चलाए।
“अतितमा कसैलाई केही गरेको घटना खोलिन्छ कि भनेर सबै डराएका छन्,” उनले भने । उनी महिलालाई खुलेर आउन र त्यसबारे कुरा गर्न प्रोत्साहन गर्छन्। “उनको लागि कसैले केही गर्न सक्दैन। कसैले पनि उनको कथा बाहिर ल्याउन सक्दैन। अवाञ्छित परिस्थितिमा उनी नपरून् भन्ने सबैको चाहना होला,” उनले भने,“तर जब उनी आउँछिन्। सबैको साथ र सहयोग अत्यन्तै महत्वपूर्ण छ। यसो गर्दा आफूले सहि गरेको उनलाई अनुभव हुनेछ।”
“र उनीमार्फत, त्यो संवादबाट र उनले बोलेका शब्दले अन्य धेरैलाई बाहिर खुलेर आउन प्रेरणा दिनेछ, प्रोत्साहित गर्नेछ। र यसरी नै यो प्रणालीको सफाइ हुनेछ।”
पटकथाकार चाउ स्याउस्वानले मुख खोलिन्। चीनको ह्याशट्याग मिटु आन्दोलनको केन्द्र बनिन्। टेलिभिजनका एक जना स्टारले यौन दुर्व्यवहार गरेको दाबी गर्दै उनले गोप्य रूपमा लेखेको निबन्ध चीनको सामाजिक सञ्जाल सिना वेइबोमा पोहोर सार्वजनिक भयो।
टेलिभिजनका लोकप्रिय प्रस्तोता झु जुनले उनीविरूद्ध मानहानीको मुद्दा लगाए। चाउले व्यक्तिगत अधिकारको उल्लंघन गरेको मुद्दा हालिन्। चीनका महिला अधिकारवादी अभियन्ताले मुद्दा हेरिरहेका छन्।
आन्दोलनले चीनका अधिकांश लब्धप्रतिष्ठित र माथिसम्म पहुँच भएका पुरूषलाई मात्रै प्रभावित गरेको चाउले बताइन्। “उनीहरू ह्याशट्याग मिटुको चर्चाबाट डराए र रोकिए। तर समाजका अधिकांश मानिसले ह्याशट्याग मिटुबारे सुनेकै छैनन्,” उनले भनिन्।
“म भाग्यमानी छु किनभने झु जुन लोकप्रिय छन्,” चाउले भनिन्,“साथीभाइ, सहकर्मी वा पार्टनरबाट दुर्व्यवहार खेपेका महिलालाई कानूनी उपचार खोज्नु असाध्यै कठिन छ।”
जापानकी टेलिभिजन पत्रकार शिओरो इतोले आफू बलात्कृत भएको मे २०१७ मा खुलासा गरिन्। त्यसपछि महिनौंसम्म “ट्रलिङ” र अपमानको सामना गर्नुपरेको इतोले बताइन्। यो अमेरिकामा ह्याशट्याग मिटु आन्दोलन सुरू हुनुअघिको घटना हो।
“म एक्लो हुँदा बोल्ने ती सबै महिलाप्रति आभारी छु,” उनले भनिन्। जापान र आफ्नै परिवारमा पनि परिवर्तन आएको अनुभव गरेकी छिन्। उनीहरू इतो चुप रहुन् भन्ने चाहन्थे। तर पछि उनीहरूले भने,“उनी सही पनि त हुनसक्छिन्?”
जनवरी २०१८ मा दक्षिण कोरियाली सरकारी वकिल स्यो जि ह्युनको टेलिभिजन अन्तर्वार्ताले सबैलाई भावुक बनायो। उनले अन्तर्वार्तामा आठ वर्षअघि दुर्व्यवहारमा परेको घटना खोलिन्। दक्षिण कोरियामा ह्याशट्याग मिटु आन्दोलन सुरू गर्ने श्रेय उनलाई दिइएको छ। त्यसपछि पीडकविरूद्ध शक्तिको दुरूपयोग गरेको मुद्दा स्योले जितिन्। हलिवुडमा महिलाले आफ्नो कथा खोलेको हेरेर आफूलाई पनि खुलेर बोल्ने आँट आएको उनले बताइन्।
समर्थकहरूले जुलुस निकाले। उनीहरूले ह्याशट्याग विथ यु लेखिएको ब्यानर र मैनबत्ती बोकेका थिए। “यसमा मेरो कुनै गल्ती नभएको र लाज मान्नुपर्ने कुनै कारण छैन भनेर आफूलाई सम्झाएँ,” उनले भनिन्।
पाकिस्तानमा नृत्याङ्गना, नाटक निर्देशक र अभियन्ता शीमा कर्मानीले यौन दुर्व्यवहारविरूद्ध अभियान चलाइरहेकी छिन्। “मेरो विचारमा अभिनेत्री, ठूला अभिनेत्रीले ठूलाठूला अभिनेताले यौन दुर्व्यवहार गरेको खुलासा गर्न थालेपछि पाकिस्तानी महिला र सञ्चार क्षेत्रमा भएका महिलाले बोल्ने साहस पाए,” उनले भनिन्।
यौन दुर्व्यवहारबाट सुरक्षित हुन थाइल्यान्डको नयाँ वर्षमा “सेक्सी” लुगा नलगाउन भन्दै छापिएको एउटा लेखको प्रतिक्रिया स्वरूप मोडेल तथा टेलिभिजन व्यक्तित्व सिन्डी सिरिन्या बिशपले “डोन्ट टेल मि हाउ टु ड्रेस” अभियान सुरू गरिन्। उनलाई धेरैले साथ पनि दिए।
“मैले पोस्ट गरेको एउटा छोटो भिडियो रातारात भाइरल भएपछि सबै सुरू भयो। सबैले शेयर गरे, कमेन्ट गरे। सधैं लुगाले ढाकिएर किन हिँड्नु भन्दै प्रश्न गरे।
दुर्व्यवहारमा पर्नु हाम्रो दोष हो? भनेर सोधे,” उनले भनिन्। बिशपले यौन दुर्व्यवहारमा परेका महिलाले लगाउने पहिरनको प्रदर्शन पनि सिर्जना गरिन्। “विश्वविद्यालयमा पढ्ने विद्यार्थीको पहिरनदेखि बालबालिकाको लुगा, स्वेटप्यान्ट र टिशर्टसम्म राख्यौं,” उनले बताइन्।
अमेरिकाको कथा सार्वजनिक नभएको भए पनि उनको आन्दोलन भएरै छाड्ने उनले बताइन्। उनी भन्छिन्,“एक तरिकाले जानेर होस् वा नजानेर ह्याशट्याग आन्दोलनले विश्वभरका महिलाको सशक्तिकरण गरेको छ।”