क्लिन फिड नीति आवश्यक : खनाल
काठमाडौं, साउन ७ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई सांस्कृतिक तथा आर्थिक प....

काठमाडौं, साउन ७ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई सांस्कृतिक तथा आर्थिक पराधिनताबाट जोगाउन पनि विज्ञापनमा क्लिन फिड नीति आवश्यक रहेको बताएका छन्।
मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा खनालले सरकारले मुलुकको सांस्कृतिक तथा आर्थिक क्षेत्रमा वैदेशिक हस्तक्षेप हुन नदिन पनि विज्ञापनसम्बन्धि विधेयकमा ‘क्लिन फिड’ को प्रावधान राखिएको पनि स्पष्ट पारे।
उनले मुलुकको हितलाई केन्द्रमा राखेर सरकारले ल्याएको सो विधेयकलाई राजनीतिक सहमति जुटाएर पारित गर्नुपर्ने प्रस्ताव पनि अघि सारे। नेता खनालले विज्ञापनको बजार मुलुकका तीव्र रुपमा विस्तार भइरहेकाले पनि त्यसको नियमनका लागि पनि सो विधेयक अति आवश्यक रहेको दाबी गरे।
बैठकमा विज्ञहरु काशिराज दाहाल, लक्ष्मण हुँमागाइँ र तारानाथ दाहालले समितिमा विचाराधिन रहेको सो विधेयकलाई समृद्ध बनाउने सन्दर्भ सामग्रीबारेमा समितिलाई जानकारी गराएका थिए।
कानुनविद् दाहालले सो विधेयकलाई समृद्ध बनाउन संविधान, देवानी तथा फौजदारी संहिता, उपभोक्ता हित संरक्षण ऐन र सर्वोच्च अदालतका फैसलाहरुलाई मूल आधार बनाउन समिति समक्ष आग्रह गरेका थिए।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले समितिको यसअघि सोमबारको बैठकमा क्लिन फिड सम्बन्धि प्रावधान राष्ट्रिय हितलाई ध्यानमा राखेर समावेश गरिएकाले नहाउने अडान राखिसकेका छन्।

-1784896419.png)









