Kathmandu Press

बाढी पहिरोमा एकजनाको मृत्यु, लाखौँका धनमाल नष्ट

देशभर सोमबारको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी एकजनाको मृत्यु हुनुका साथै लाखौँ मूल्यका धनमाल नष्ट भएका छन्।
बाढी पहिरोमा एकजनाको मृत्यु, लाखौँका धनमाल नष्ट

काठमाडौं, भदौ २१ : देशभर सोमबारको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी एकजनाको मृत्यु हुनुका साथै लाखौँ मूल्यका धनमाल नष्ट भएका छन् ।

मृत्यु हुनेमा जाजरकोट नलगाड नगरपालिका–५ ढाडसिर्के बस्ने गोरखबहादुर खड्काका १० वर्षीय छोरा प्रचण्ड छन् । घरमै पहिरोमा पुरिएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनका बाबु गोरख र आमा गम्भीर घाइते भएका छन् । उनीहरूलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचारार्थ भर्ना गरिएको छ ।

यस्तै, काठमाडौं काठमाडौं महानगरपालिका–३२ स्थित पेप्सिकोला, खहरे, मनोहरा पुलआसपास र कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित हरहर महादेव, थापाचोक गणेश मन्दिर, कागेश्वरी मनोहरा नगरपालिका–८ का बुद्धचोक बालुवाखानी, पहेंलो पुल तथा कागेश्वरी मनोहरा नगरपालिका–९ खहरे, सनसिटी पछाडिलगायत स्थानमा घरहरू, चारवटा मोटर ग्यारेज, एउटा गाईगोठ, एउटा हाँस फार्म, एउटा कागज कारखाना डुबानमा परेका छन् । डुबानमा परेका महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिक गरी ४५ जनालाई प्रहरीले उद्धार गरेको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिका–२ लम्सुङस्थित दरखोलामा आइतबार राति आएको बाढीले स्थानीय लघु जलविद्युतको पावर हाउस बगाएको छ ।

यसैगरी, काभ्रे बनेपा नगरपालिका–१ दुलाल गाउँ बस्ने ५२ वर्षीय मिठाराम दुलालको घर र गोठमा सोमबार दिउँसो पहिरो जाँदा ३० लाख रुपैयाँबराबरको धनमाल नष्ट भएको छ ।

यस्तै, बनेपा नगरपालिका–२ घिमिरे गाउँका बस्ने ५५ वर्षीया अनन्तकुमारी घिमिरेको घरमा सोमबार बिहान पहिरो जाँदा अनन्त कुमारी र उनकी आठ वर्षीया नातिनी युनिषा घिमिरे घाइते भएका छन् । स्थानीय शीर मेमोरियल अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

प्रकाशित मिति: १७:४९ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्