Kathmandu Press

गुल्मीमा पहिरो: एकै परिवारका आठसहित ११ जनाको मृत्यु, दुई बेपत्ता (अपडेट)

गुल्मी, साउन ७ : गुल्मीको सत्यवति गाउँपालिका–३ र ४ नम्बर वडामा गएको पहिरोले तीन वटा घर पुरिँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ। दुई जना अझ....

गुल्मीमा पहिरो: एकै परिवारका आठसहित ११ जनाको मृत्यु, दुई बेपत्ता (अपडेट)
रासस

गुल्मी, साउन ७ : गुल्मीको सत्यवति गाउँपालिका–३ र ४ नम्बर वडामा गएको पहिरोले तीन वटा घर पुरिँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ। दुई जना अझै बेपत्ता छन्। 

मंगलबार बिहान घरमाथिबाट गएको पहिरोले घर पुरिँदा सत्यावति गाउँपालिका–४ लिम्घा भीरकुनामा घर पुरिँदा एकै परिवारका ८ जना र सोही गाउँपालिकाको वडा नम्बर ३ को लुम्पेकमा तीन जना गरी ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए।

लिम्घा भीरकुनामा मृतक ८ जनामध्ये ६ जनामात्रै शव बाहिर निकाल्न सकिएको प्रहरीले जनाएको छ। बाँकी दुई जनाको शव बाहिर निकाल्ने प्रयास भइरहेको छ। 

पहिरोमा घर पुरिँदा एकै घरका ६५ वर्षीया छल्ली विक, २८ वर्षीया पम्फा विक, १२ वर्षीया अन्जली विक, १० वर्षीय हेमन्त विक, रुपा विक, सिवानी विक, निर्मला विक र हिमान्सु विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, सत्यावति गाउँपालिकाकै वडा नम्बर ३ को ठूलो लुम्पेक कसिनडाँडामा पहिरोमा घर पुरिँदा ३२ वर्षीय तिलकुमारी तरामुु, ९ वर्षीय दर्शन तरामु र ६३ वर्षीय दुर्गाबहादुर सिंजालीको  मृत्यु भएको प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए।

पहिरोले सोही ठाउँका रुद्र विकको घर पुरिएको छ। घरमा रहेका ४० वर्षीया माया विक र १६ वर्षीय बबी विक बेपत्ता भएका छन्। 

घटनास्थलमा  नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारका लागि खटिएका छन्। 

प्रकाशित मिति: १४:१७ बजे, मंगलबार, साउन ७, २०७६