नेकपा एकताको सबै काम साउनभित्र सकिन्छ : प्रचण्ड
काठमाडौं, साउन ७ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको प्रक्रिया निष्कर्षमा पुगिसकेको बताएका छन्।
पुष्पलाल ....
काठमाडौं, साउन ७ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको प्रक्रिया निष्कर्षमा पुगिसकेको बताएका छन्।
पुष्पलाल स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौं आयोजना गरेको ‘४१ औं पुष्पलाल स्मृति दिवस’मा आयोजित कार्यक्रममा उनले एकता प्रक्रिया साउनभित्र सकिने बताए।
‘एक दुई वटा औपचारिकता दिन मात्र बाँकी रहेको छ। केही दिनभित्र हामी सबै पार्टी एकता टुङ्ग्याउँछौं,’ उनले भने, ‘हाम्रो लक्ष्य यही साउन महिनाभित्र पार्टी एकताका बाँकी रहेका काम पनि टुङ्ग्याउने छौं, स्थायी कमिटी तथा केन्द्रीय कमिटीको बैठक पनि बस्ने छौं।’ उनले केन्द्रीय कमिटी बैठकबाट देशव्यापीरुपमा कार्यक्रम बनाएर जनतासमक्ष समेत जाने बताए।
पुष्पलालले देखेको सपना आफूहरुले पार्टी एकता गर्दै जनवादी क्रान्ति मौलिक ढङ्गले पूरा गरेको उनको भनाइ थियो। ‘विभाजन भएको पार्टीलाई फेरि एकताबद्ध र आन्दोलित गर्ने, दीर्घकालीन सशस्त्र सङ्घर्षमार्फत जनवादी क्रान्ति रणनीति अगाडि बढाउने अनि पञ्चायतका शक्तिसँग मिलेर जाने पहलको नेतृत्व पनि पुष्पलालले नै गर्नुभएको हो,’ प्रचण्डले भने, ‘त्यसैले हामी सबै पुष्पलालकै सन्तति र उत्तराधिकारी हौं।’
कार्यक्रममा नेकपाका वरिष्ठ नेता तथा प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले नेकपालाई लोकप्रिय बनाएर स्थापित गर्न सकेमात्र पुष्पलालको सपना साकार हुने बताए।
उनले पार्टीको केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह पार्टीको मार्ग निर्देशनअनुसार चल्नुपर्ने तथा पार्टीमा राम्रो काम गर्ने व्यक्तिलाई प्रोत्साहनसमेत गर्नुपर्ने बताए। उनले छिट्टै पोलिटब्यूरो गठन तथा विभागीय र जनवर्गाीय सङ्गठनको जिम्मेवारी बाँडफाँट गरिने बताए।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पुष्पलालले देखाएको बाटामा हिँडेमात्र मुलुक समृद्धि हुने बताउँदै समाजवादको मार्गरेखा कोरिएकाले अबको कम्युनिष्ट सरकारले मुलुकमा समाजवाद ल्याउनुपर्ने बताए।
सो अवसरमा कीर्तिपुरस्थित पुष्पलाल स्मृति उद्यान चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल र खनाल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णुप्रसाद पौडेललगायत नेताले फूलगुच्छासहित माल्यार्पण गरेका थिए।






