प्रदेश २ मा एमालेका थप दुई सांसद एकीकृत समाजवादीमा

जनकपुरधाम, भदौ २० : प्रदेश २ मा एमालेका थप दुई सांसदले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन्।
आज (आइतबार) जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एमाले सांसदद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। विश्वकर्मा संसदीय दलका प्रमुख सचेतक पनि थिए।
एमालेका ११ संसदले बिहीबार नै एकीकृत समाजवादीका पक्षमा सनाखत गराए। सांसद विश्वकर्मा र गुरुङ भने सो दिन वीरगन्जमा आयोजित एमालेको कार्यक्रममा सहभागी भइरहेका थिए। उनीहरूले मौसम खराब भएका कारण सनाखत गर्न आउन नपाएको बताएका थिए।
प्रदेश २ मा एमालेका २१ सांसदले जितेका थिए। अब प्रदेश २ मा एकीकृत समाजवादीका १३ सांसद हुँदा एमाले भने ८ जनामा सीमित हुने भएके छ।
प्रदेश २ बाट एकीकृत समाजवादी रोज्नेमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा र सीता गुरुङ हुन्।











