Kathmandu Press

एकीकृत समाजवादीमा जिम्मेवारी बाँडफाँट : कसलाई के जिम्मा?

काठमाडौं, भदौ २० : माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पहिलो चरणमा जिम्मेवारी बाँडफाँट गरेको छ।राष्ट्रिय सम्मेलन नभएसम्मका लागि उक्त पार्टीले स्थायी...
एकीकृत समाजवादीमा जिम्मेवारी बाँडफाँट : कसलाई के जिम्मा?

काठमाडौं, भदौ २० : माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पहिलो चरणमा जिम्मेवारी बाँडफाँट गरेको छ।

राष्ट्रिय सम्मेलन नभएसम्मका लागि उक्त पार्टीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इन्चार्जहरु चयन गरेको हो।

सम्मेलनमार्फत केन्द्रीय कमिटीले पूर्णता नपाएसम्मका लागि पार्टीलाई सहजतापूर्वक अघि बढाउन अन्तरपार्टी निर्देशन (अपानी) नै जारी गरेर पार्टीले जिम्मेवारी बाँडफाँट गरेको हो।  

पार्टी अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहित मुकुन्द न्यौपाने, डा. वेदुराम भुसाल र प्रमेश हमालको स्थायी कमिटी रहेको अपानीमा उल्लेख छ।

पार्टीको दैनिक कार्य सम्पादनका लागि डा. भुसालको संयोजकत्वमा डा. गंगालाल तुलाधर कार्यालय सचिव रहनेगरी प्रमेश हमाल, राजेन्द्र पाण्डे,  डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय गठन गरिएको छ।

त्यसैगरी अपानीमा प्रदेश इन्चार्जहरुको जिम्मेवारी पनि तोकिएको छ। तदनुसार प्रदेश १ को इन्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह र वाग्मतीमा केदार न्यौपाने,  गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णालीमा प्रकाश ज्वालालाई जिम्मेवारी दिइएको छ। सुदूरपश्चिम प्रदेश इन्चार्ज भने पछि तोकिने बताइएको छ।

काठमाडौं उपत्यका विशेष प्रदेश इन्चार्ज विश्वनाथ प्याकुरेल र सम्पर्क विशेष प्रदेश इन्चार्ज विजय गुरुङ तोकिएका छन्। डा. विजय पौडेलले मोर्चा इन्चार्जसहित  प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।

डा. पौडेलसहित राजेन्द्र पाण्डे र रामकुमारी झाँक्रीलाई अदालत र निर्चाचन आयोगसम्बन्धी काम गर्ने जिम्मेवारी दिइएको छ। प्रवासको संयोजन गर्ने जिम्मा श्रीप्रसाद शाहको भागमा परेको छ।

विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीले संसदीय कामको जिम्मेवारी पाएका छन्।

राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनलगायतका दस्तावेज तयार गर्न झलनाथ खनालको संयोजकत्वमा समिति बनाइएको छ।

समितिमा डा. भुसाल, पाण्डे, डा. तुलाधर, डा. पौडेल, ज्वाला, खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, झाँक्री र गणेश विक छन्।

प्रकाशित मिति: १२:४२ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्