Kathmandu Press

चिकित्सक आन्दोलनमा उत्रिएपछि बिपी प्रतिष्ठानमा बिरामी अलपत्र

धरान, भदौ २० : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै चिकित्सकले आन्दोलनमा उत्रिएपछि बिरामीहरू उपचार नपाएर अलपत्र परेका छन्।आन्दोलनमा उत्रिएका चिकित्सकहरूले ओपिडी...
चिकित्सक आन्दोलनमा उत्रिएपछि बिपी प्रतिष्ठानमा बिरामी अलपत्र

धरान, भदौ २० : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै चिकित्सकले आन्दोलनमा उत्रिएपछि बिरामीहरू उपचार नपाएर अलपत्र परेका छन्।

आन्दोलनमा उत्रिएका चिकित्सकहरूले ओपिडी काउण्टर खोल्न नदिएपछि बिरामीहरूले पुर्जी पनि काट्न नपाएको बताइएको छ। 

आफूहरूको जायज माग पूरा नगरेको भन्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। प्रतिष्ठानका पदाधिकारीहरू उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले करोडौं रकम भ्रष्टाचार गरेको भन्दै उनीहरूलाई पदबाट हटाउनुपर्ने र प्रतिष्ठान सुधार गर्नुपर्ने माग राखेर चिकित्सक र कर्मचारीहरू आन्दोलनमा थिए ।

सरकारले प्रतिष्ठान सुधारमा चासो नदेखाएकारण आज (आइतबार) देखि आकस्मिक बाहेकका सबै काम बहिष्कार गर्नुपरेको बिपी प्रतिष्ठान शुद्धीकरण अभियानले जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार आएपछि गठित डा. बैकुण्ठ अर्यालको प्रतिवेदन कार्यान्वयन, सरकारले प्रतिष्ठानका आन्दोलनकारीहरूसँग र डा. गोविन्द केसीसँग गरेको सहमति कार्यान्वयन गर्नुपर्नेमा अभियानले जोड दिएको छ। 

चिकित्सकहरुले बिरामीलाई अलपत्र पारेपछि धरानका कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपालगायतका दलहरूले भने तत्काल उपचार सेवा सञ्चालनको माग माग गरेका छन्।

प्रकाशित मिति: १२:१९ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्