गुल्मीका तीन गाउँमा पहिरो, ९ को मृत्यु, चार वेपत्ता
गुल्मी, साउन ७ : गए रातिदेखि परेको अविरल वर्षाले गुल्मीको सत्यवती गाउँपालिकामा पहिरो गएको छ। तीन गाउँमा गएको पहिरोले घर बगाउँदा नौ जनाको मृत्यु भएको छ....
गुल्मी, साउन ७ : गए रातिदेखि परेको अविरल वर्षाले गुल्मीको सत्यवती गाउँपालिकामा पहिरो गएको छ। तीन गाउँमा गएको पहिरोले घर बगाउँदा नौ जनाको मृत्यु भएको छ भने चार वेपत्ता भएका छन्।
स्थानीय बासिन्दाका अनुसार, सत्यवती गाउँपालिका–४ लिम्घा भीरकुनामा गएको पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ। पहिरोमा परी चार जना वेपत्ता भएका छन्। वेपत्ताको खोजि भइरहेको जनाएको छ।
पहिरोमा तीन घर पुरिएका छन्। तीनै घरमा नौ जना बस्ने गरेको स्थानीय बासिन्दाले बताएका छन्। लिम्घामै १० घर पहिरोको जोखिममा परेका छन्। उनीहरूलाई सुरक्षित स्थानमा सार्न स्थानीय बासिन्दा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालयका अनुसार, सत्यवती गाउँपालिका–३ को सिङ्दीमा पहिरोमा परेर दुईको मृत्यु भएको छ। दुवै आमाछोरा रहेको जनाएको छ।
यसैगरी सत्यवती–३ कसिङ्थलामा गएको पहिरोमा पुरिएर दुईको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरो गएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ। डीएसपी मीन घलेको नेतृत्वमा प्रहरी टोली गएको जनाएको छ।
प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै विस्तृत जानकारी आउने गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।






