भुस्याहा कुकुर शान्त बनाउन बुद्ध मन्त्र र प्रार्थना
कुकर शान्त बनाउन बुद्ध मन्त्र जपेको थाहा छ? सुन्दा अपत्यारिलो छ। तर म्यान्मारमा यस्तै भइरहेको छ।
कुकुरको संख्या र रेबिजको महामारी अचाक्ली बढेपछि याङ्गुनको कु....
कुकर शान्त बनाउन बुद्ध मन्त्र जपेको थाहा छ? सुन्दा अपत्यारिलो छ। तर म्यान्मारमा यस्तै भइरहेको छ।
कुकुरको संख्या र रेबिजको महामारी अचाक्ली बढेपछि याङ्गुनको कुकुरको शेल्टरमा ठूला-ठूला स्पिकर राखेर बुद्ध मन्त्र बजाउने गरिएको छ।
“धर्म मन्त्र बजाउँदा कुकुरले सहवास नगर्ने पत्ता लगायौं,” थावर्वा एनिमल शेल्टरका व्यवस्थापक मोवाङ मोवाङ ऊले भने।
रेबिजका कारण म्यान्मारका प्रत्येक वर्ष अनुमानित एक हजार मानिसले ज्यान गुमाउने विज्ञहरू बताउँछन्। यो विश्वकै उच्च दरमध्ये एक हो। समस्याको मूल कारण भुस्याहा कुकुर हो। तर बौद्ध बाहुल्य भएको देशमा विष ख्वाएर कुकुर मार्ने कार्यले ठूलो बहस निम्त्याएको छ। यसरी कुकुर मार्ने मानिस अर्को जन्ममा बाँझो हुने केहीलाई विश्वास छ।
खोप महँगो हुनसक्छ। यसो गर्नलाई धेरै उद्धार केन्द्रसँग श्रोतको अभाव पनि छ।
थावर्वा एनिमल शेल्टर याङ्गुनभन्दा ४५ किलोमिटर उत्तरपूर्वमा छ। यहाँ दुई हजार भुस्याहा कुकुरलाई आश्रय दिइएको छ। भुस्याहा कुकुरको संख्या नियन्त्रण गर्ने आश्चयर्जक उपाय पत्ता लगाएको शेल्टरको दाबी छ। कुकुरलाई कम आक्रामक बनाउन दिनमा दुई पटक बुद्ध मन्त्र बजाउने गरिएको मोवाङ मोवाङ ऊले बताए।
“हामी अरू के गर्न सक्छौं र?,” उनले भने।
हरेक दिन दशदेखि ८० ओटा कुकुर शेल्टरमा ल्याइन्छन्। मोआङ मोआङ ऊ र चालीस जनाको टोली व्यस्त हुन्छन्। उनीहरू बाँदर र एशियाली कालो भालुको स्याहार्छन्। पछिल्ला सातामा शेल्टमार कुकुरको संख्या आठ सयदेखि दुई हजार पुगेको छ। याङ्गुनका अधिकारीले कुकुर नियन्त्रणका उपाय पनि बढाएका छन्। सडकबाट करिब ६० हजार कुकुर विभिन्न शेल्टरमा सारिएका छन्।
कुकुरको संख्या वृद्धि भएसँगै सर्वसाधारण पनि दिक्क भएका छन्। त्यसैले अधिकारीहरूले नियन्त्रणका उपाय बढाएका हुन्। सन् २०१६ मा लागू गरिएको बन्ध्याकरण कार्यक्रमको दीर्घकालीन प्रभाव देखिएन। याङ्गुनमा मात्रै करिब दुई लाख भुस्याहा कुकुर भएको अनुमान छ। रेबिजको जोखिमका कारण धेरैले यसलाई खतरा मानेका छन्। सडकहरू कुकुरले भरिएका छन्।
विवादास्पद रणनीति
साँझमा स्थिति झन् गम्भीर बन्छ। कुकुरहरू झुण्डझुण्ड बनाएर भुक्ने गर्छन्। सडकमा हिँडडुल गर्न कठिन हुन्छ। स्थानीयवासी कुकुरले टोक्छ भनेर तर्सिन्छन्।
थिङ्गी विन पसल चलाउँछन्। कुकुरको बढ्दो संख्याले शहर कब्जा गरेजस्तो धेरैलाई अनुभव भएको उनले बताए। आक्रमणको पनि उस्तै जोखिम छ।
“रिसाएका भुस्याहा कुकुरले मानिसलाई प्राय: आक्रमण गर्छन्। म र मेरी नातिनीलाई कुकुरले टोकेको छ। औषधि लिनुपर्यो,” ५५ वर्षीय विनले भने।
भिन्न नगरले भिन्न उपाय रोजेका छन्। केहीले कुकुरलाई बेहोश बनाएर शेल्टरमा ल्याउँछन्। तर करिब दश प्रतिशत कुकुरलाई विष ख्वाइने म्यान्मार भेटेरिनरी एसोसिएसनले जनाएको छ। यो रणनीतिले विवाद निम्त्याएको छ।
तर कुकुर मार्नु वा हटाउनु रेबिज व्यवस्थापनको प्रभावकारी उपाय सिद्ध नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठन खोप लगाउने पक्षमा छ।
खोप लगाइएका कुकुरले “फायरवाल” जसरी काम गर्ने फोर पज नामक गैरसरकारी संस्थाकी डा. मरिना इभानोभाले बताइन्। भियनामा मुख्यालय भएको यो संस्थाले आउने तीन वर्षभित्र म्यान्मारका दश लाख कुकुरलाई खोप लगाउने लक्ष्य लिएको छ।
“एउटा क्षेत्रका कुकुरलाई खोप लगाएपछि, उनीहरूलाई रेबिज हुँदैन र उनीहरूले मानिसलाई सार्न पनि सक्दैनन्,” उनले भनिन्।
श्रोतको अभावमा रेबिजको खोपका लागि अधिकारीहरू कम्पनी र नागरिकको निजी अनुदानमा भरपर्छन्। बहान नगरले अझ नम्र मार्ग रोजेको छ। कुकुरलाई “मजल” लगाएर कुनै शेल्टरमा ढुवानी गर्ने उनीहरूको योजना छ।
अध्यक्ष विन बो भन्छन्,“म्यान्मार कुकुर मार्ने देश भनेर नचिनियोस् भन्ने हामी चाहन्छौं।”