नेताहरुको आचरण र व्यवहार नसुध्रिएसम्म कांग्रेस बलियो हुँदैन: डा. महत
काठमाडौं, साउन ६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेताहरुको आचरण र व्यवहार नसुध्रिएसम्म कांग्रेस बलियो प....

काठमाडौं, साउन ६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेताहरुको आचरण र व्यवहार नसुध्रिएसम्म कांग्रेस बलियो पार्टी बन्न नसक्ने बताएका छन्।
वीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा वीपी कोइराला युवा नेतृत्व विकास प्रतिष्ठानले सोमबार सुन्दरीजलमा गरेको कार्यक्रममा डा. महतले पार्टीमा अनावश्यक गुटबन्दी गर्ने, पैसाको खेल गर्ने प्रवृत्ति गलत रहेकाले पार्टीलाई अगाडी बढाउन वीपीको आदर्श र आचरणलाई अपनाउनुपर्ने बताए।
महतले आफूहरु वीपीको नीतिको खिलापमा नभएको बताए। ‘वीपीको नीतिको खिलापमा हामी छैनौं तर, वीपीको समयको आदर्श अहिले छैन,’ महतले भने,‘उहाँमा दूरदृष्टि थियो। त्यो दूरदृष्टि आजका नेताहरुमा छैन।’
उनले कांग्रेसकै नीतिका कारण देशको ढुकुटी बलियो बनाएको र गाउँको विकास, राष्ट्रिय गौरवका थुप्रै योजनाहरु कांग्रेसले नै शुरु गरेको बताए। उनले वीपी कोइराला कुनै अहम नभएका राष्ट्रवादी नेता भएको भन्दै नेपाली राजनीतिमा वीपीको योगदानबारे पनि चर्चा गरेका थिए।

-1784896419.png)









