Kathmandu Press

सबै देशका लागि नेपालको परराष्ट्र नीति एउटै हुनुपर्छ : डा. महत 

काठमाडौं, भदौ १९ : प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले अहिलेको सरकारले विदेश नीति अवलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताएका...
सबै देशका लागि नेपालको परराष्ट्र नीति एउटै हुनुपर्छ : डा. महत 

काठमाडौं, भदौ १९ : प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले अहिलेको सरकारले विदेश नीति अवलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताएका छन्।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘एउटा मित्रराष्ट्रसँग सम्बन्ध राख्दा एउटा मापदण्ड र अर्को मित्रराष्ट्रसँग सम्बन्ध राख्दा अर्को मापदण्ड राख्नुहुँदैन। त्यसो गरियो धेरै अप्ठ्यारो पर्छ, अविश्वास बढ्छ।’

उनले आफ्नो आवश्यकता र स्वार्थलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिए। ‘आफ्नो कुराभन्दा पनि उनीहरुको कुरा बुझेर परराष्ट्र नीति सञ्चालन गर्नुहुँदैन। यो सरकारले विश्वासका आधारमा दुई देशबीच सम्बन्ध अघि बढाएको छ,’ उनले भने

नेता महतले आफूहरु कसैको लहैलहैमा नलाग्ने पनि बताए। ‘हिजोको सरकार कसैको लहैलहैमा लाग्यो होला तर हामी लाग्दैनोैं। हामी नेपालको चाहे सीमाको कुरा आउँछ, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वार्थ र आवश्यकताको कुरा आउँछ, चाहे चीन होस् वा भारत, लिम्पियाधुराको सवालमा पनि हामीले एक स्वरमा भन्यौं।’ 

उनले हुम्लाको विषयमा प्रश्न उठेको बताए। ‘तुइन प्रकरणमा छानबिन गर्दा समस्या नहुने अनि हुम्लामा के छ भनेर हेर्दा, के को आपत्ति ? समस्या रहेनछ भने ठिकै हो नि। अतिक्रमण देखियो भने संयुक्त रुपमा हल गर्नुपर्छ,’ उनले भने, ‘अध्ययन गर्दैमा र छानबिन गर्दैमा सम्बन्ध बिग्रिँदैन। छानबिन पनि हुन्छ। आफ्नो पक्षबाट कमजोरी देखियो भने त्यो कुरा पनि उठाउनुपर्छ।’

उनले नेपालको परराष्ट्र नीतिको मूल मन्त्र भनेको नै आफ्नो देशको स्वार्थ र हितको संरक्षण गर्नु भएको बताए। ‘भारत होस वा चीन, हाम्रो परराष्ट्र नीतिको मूलमन्त्र भनेको नेपालको स्वार्थ र हितको संरक्षण गर्ने हो, हाम्रो स्वार्थ र आवश्यकत्तालाई केन्द्रबिन्दुमा राखेर विदेश नीति हुन्छ।’

उनले देशको सुरक्षा र राष्ट्रिय अखण्डताप्रति कांग्रेस सधैं सजग रहेको उल्लेख गर्दै उनले भने, ‘हामी जनताका बीचमा गएर उत्ताउला नारा लगाउँदैनौं, हामी आफ्नो कुरा निर्धक्कसँग राख्छौं। दार्चुलाको तुइन घटनाबारे छानबिन समिति बनायौं। समितिले रिपोर्ट ल्यायो। त्यसको आधारमा परराष्ट्र मन्त्रालयलाई लेखेर दिएको छ। मन्त्रालयले मित्रराष्ट्रसँग मौखिक रुपमा कन्भे गरिसकेको छ। मैले बुझेअनुसार औपचारिक रुपमा पत्राचार हुँदैछ। हेलिकप्टर उडाइरहेको कुरामा पनि हामीले यकिन हुनुपर्छ। पूर्ण जानकारी लिएपछि त्यसको आधारमा उठान गर्नुपर्ने विषय भए सरकारले उठान गर्छ।’

त्यस्तै, उनले चीनसँगको सीमा विवादबारे अध्ययन समिति बनाइएको बताउँदै भने, ‘चीनसँगको सिमाको कुरा गर्दा हुम्लामा पहिलेदेखि नै समस्या छ भनेर भनिएको छ, अतिक्रमण भएको कुरा निर्वाचित प्रतिनिधिले भनेका छन्। पहिलेको सरकारकै पालामा यो विषय उठेको हो। अहिलेको सरकारको पालामा पनि उठेको छ। अहिले मन्त्रिपरिषद्ले छानबिन समिति बनाएको छ। समितिले जे निष्कर्ष निकाल्छ, त्यही हुन्छ। मिचिएको कुरा देखिए नेपाल सरकारले आफ्नो कुरा उठाउँछ।’ उनले भारत होस वा चीन होस जायज विषयलाई मित्रराष्ट्रले सुन्नुपर्ने बताए। 

उनले एमसिसीमा भएका आशंकाहरु अमेरिकी सरकारले हटाउने पनि विश्वास दिलाए। उनले भने, ‘एमसीसी अनुदानमा आएको कार्यक्रम हो। अर्थ मन्त्रालयको संयन्त्रले कार्यान्वयन गर्दैछ। सैन्य प्रयोजनमा यो पैसा प्रयोग गर्न पाइँँदैन। कतिपय विषय यो छ कि त्यो छ कि भनेर कुरा उठेको छ। यसको बारेमा पनि स्पष्ट पार्न सरकारले पहल गरिरहेको छ। एमसिसीबारे अस्पष्ट भएका कुरा, पब्लिकमा भएका अस्पष्ट र जिज्ञासा, आशंका छ, प्रचार धेरै कुरा भएका छन्। त्यो विषयमा अमेरिकी सरकारले सपष्ट गर्ला। आशंका निराकरण हुनेछ। यो प्रक्रिया अघि बढ्छ।’

त्यस्तै, डा. महतले छिट्टै सरकारले पूर्णता पाउने स्पष्ट पारेका छन्। उनले भने, ‘अब मन्त्रिपरिषद् चाँडो विस्तार हुनुपर्छ। सरकार गठन भएको लामो समय भैसकेको छ। विभिन्न घटक र पार्टी जोडेर सरकार बनाउनुपरेको छ। घटक दलले समयमा नामावली नदिँदा, खासगरी माधवजीलाई पार्टी बनाउन लामो समय लाग्यो। जसपाबाट पनि नाम आउन ढिला भयो। तर, अब लम्ब्याउनुहुँदैन। कांग्रेसमा मन्त्री बनाउने बारेमा कुनै समस्या छैन। हामी त मन्त्री बन्ने साथीहरुको नाम टुंगो लगाएका छौं।’
 
 

प्रकाशित मिति: १७:११ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्