Kathmandu Press

स्वर्गीय पिताको राजनीतिलाई निरन्तरता दिन १९ वर्षीया स्वस्तिका भइन् कांग्रेस वडा सभापति

दैलेख, भदौ १९ : शुक्रबार (भदौ १८) बाट नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया आरम्भ भएको छ। शुक्रबार अधिकांश वडामा कांग्रेसको अधिवेशन सम्पन्न भएको...
स्वर्गीय पिताको राजनीतिलाई निरन्तरता दिन १९ वर्षीया स्वस्तिका भइन् कांग्रेस वडा सभापति

दैलेख, भदौ १९ : शुक्रबार (भदौ १८) बाट नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया आरम्भ भएको छ। शुक्रबार अधिकांश वडामा कांग्रेसको अधिवेशन सम्पन्न भएको छ।

कांग्रेस पुरानो पार्टी भएकाले नेतृत्वको आकांक्षामा बसेकाहरू धेरै हुन्छन्। त्यसकारण प्रायः उमेरले पाको भइसकेकाहरू नै नेतृत्वको दाबी गर्छन् र चुनिन्छन् पनि। अझ पुरुषहरुको दबदबा त जताततै छ। तर दैलेखको दुल्लु नगरपालिका–३ मा भने १९ वर्षीया किशोरीले वडा सभापतिमा बाजी मारेकी छन्।

कांग्रेसले वडा समिति सभापतिमा १९ वर्षीया स्वस्तिका महतलाई निर्वाचित गरेपछि नयाँ पुस्ताको पनि राजनीतिमा आकर्षण बढ्दै गएको भान हुन थालेको छ। 

स्वस्तिका दैलेख कांग्रेसका स्वर्गीय नेता भूपेन्द्र महतकी छोरी हुन्। भूपेन्द्र कांग्रेस जिल्ला उपसभापति पनि भइसकेका व्यक्ति हुन्। कलिलै उमेरमा वडा सभापतिको नेतृत्व सम्हालेर उनले स्वर्गीय पिताको राजनीतिक यात्रालाई निरन्तरता दिएकी छन्।

स्वस्तिकालाई सर्वसम्मत रुपमा वडा सभापतिको नेतृत्व मिलेको हो। त्यसो त सो पदका आकांक्षी अरू नभएका होइनन् तर एउटी किशोरीले नेतृत्व लिने साहस देखाएपछि सबैले साथ दिएको बताइएको छ। 

सभापति चुनिएलगत्तै उनलाई पार्टी नेता–कार्यकर्ता आफन्त, इष्टमित्रले बधाई दिने क्रम जारी छ। विपक्षी दलका नेताहरूले पनि स्वास्तिकाको प्रयास र अरूको साथको प्रशंसा गरेका छन्।

युवाहरुलाई नेतृत्वमा ल्याउने अभियान कांग्रेसले चलाएको छ। फलस्वरुप नेतृत्वमा बिस्तारै युवाहरुको संख्या बढ्दो छ। स्वस्तिका त्यसैको एउटा उदाहरण बनेकी छन्।

प्रकाशित मिति: १४:१२ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्