Kathmandu Press

एकीकृत समाजवादीमा वामदेवलाई दोस्रो वरिष्ठ नेता कि उपाध्यक्ष?

एमालेका सबै जिम्मेवारीबाट शुक्रबार राजीनामा दिएर नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमले नयाँ पार्टीमा के जिम्मेवारी पाउने भन्नेबारे कुरा हुन बाँकी रहेको उनको सचिवालयले जनाएको छ ।
एकीकृत समाजवादीमा वामदेवलाई दोस्रो वरिष्ठ नेता कि उपाध्यक्ष?

काठमाडौं, भदौ १८ : एमालेका सबै जिम्मेवारीबाट शुक्रबार राजीनामा दिएर नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमले नयाँ पार्टीमा के जिम्मेवारी पाउने भन्नेबारे कुरा हुन बाँकी रहेको उनको सचिवालयले जनाएको छ ।

एकीकृत समाजवादीको विधानअनुसार गौतमले दोस्रो वरिष्ठ नेता र उपाध्यक्षमध्ये एक पाउने सम्भावना रहेको उक्त पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिए । एकीकृत समाजवादीमा हाल माधवकुमार नेपाल अध्यक्ष छन् भने झलनाथ खनाल वरिष्ठ नेता ।

उपाध्यक्षभन्दा माथिल्लो जिम्मेवारीमा वामदेवको इच्छा देखिए उनलाई खनालपछिको वरिष्ठ नेता दिइन सक्ने एकीकृत समाजवादीका ती केन्द्रीय सदस्यले जानकारी दिए । दोस्रो वरिष्ठ नेता बन्न उनी तयार नभए अहिलेलाई पार्टी उपाध्यक्षमा गौतमले चित्त बुझाउनुपर्नेछ । एकीकृत समाजवादीमा गौतमलाई के पद दिने भन्नेबारे अहिले छलफल नभएको उनका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए ।

गौतमको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा जाने सम्भावना पनि कमजोर रहेको ती केन्द्रीय सदस्य बताउँछन् । ‘उहाँको नेतृत्वमा सरकारमा जाँदा एकीकृत समाजवादी गठनकै लागि पसिना बगाएका नेताहरू छायामा पर्नेछन्, त्यसैले सरकारमा पार्टीको नेतृत्व गर्दै उहाँलाई पठाउन कुरा नहोला,’ ती केन्द्रीय सदस्यले काठमाडौं प्रेससँग भने ।

पार्टीका तीनमध्ये एक उपाध्यक्ष बाहिरिएपछि एमाले अध्यक्ष केपी ओलीलाई भने धक्का पुगेको छ । र, एमाले उपाध्यक्ष डा. भीम रावलसहितका १० नेताले धोका दिएकाले शीर्ष नेताहरूको अभाव झेलेको एकीकृत समाजवादीले भने गौतमजत्तिको ‘पब्लिक फिगर’ पाउँदा राहत महसुस गर्नेछ ।

तथापि, गौतमको अस्थिर राजनीतिक शैलीलाई नजिकबाट नियाल्दै आएका एकीकृत समाजवादीका नेताहरू भने उनले औपचारिक रूपमा पार्टी प्रवेश नगरेसम्म ‘शंकाको सुविधा’ लिनुपर्ने बताउँछन् । ‘उहाँ अनप्रेडिक्टेबल नेता हुनुहुन्छ, एकीकृत समाजवादी प्रवेश गरेको औपचारिक घोषणा नगरेसम्म शंकाको सुविधा लिन सकिन्छ,’ उक्त पार्टीका अर्का केन्द्रीय सदस्यले काठमाडौं प्रेससँग भने, ‘एमाले अध्यक्ष ओलीले फकाएर फेरि उहाँलाई राजीनामा फिर्ता लिन लगाई एमालेमै राखिराख्ने दाउ पनि चाल्न सक्छन् । र, उहाँ फेरि एमालेमै रहन पनि सक्नुहुन्छ । त्यसैले पार्टी प्रवेशको घोषणा अघिसम्म केही भन्न सकिँदैन ।’

तथापि, एकीकृत समाजवादी अध्यक्ष नेपालसँग पटक–पटकका वार्तापछि एमालेबाट राजीनामा दिएका गौतम फेरि एमालेमै रहने सम्भावना कमजोर रहेको उक्त पार्टीका अर्का केन्द्रीय सदस्यले बताए । यसबीचमा आफू निकटस्थ नेताहरूसँगको छलफलमा गौतमले एमाले अध्यक्ष ओलीको एकपक्षीय र पार्टी एकताविरोधी कार्यशैलीसँग मिलेर अगाडि बढ्न नसकिने बताउँदै आएका थिए ।

एकीकृत समाजवादीमा प्रवेश गर्न गौतमका विभिन्न शर्तबारे अनलाइन पोर्टलहरूमा प्रकाशित समाचार खण्डन गर्दै गौतमको सचिालयले शुक्रबार नै जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको निर्देशक सिद्धान्त बनाउनेबाहेकको कुनै शर्त नरहेको स्पष्ट पारेको थियो ।

बिहीबार मात्र एकीकृत समाजवादीका अध्यक्ष नेपालले जबजलाई निर्देशक सिद्धान्त बनाएर अगाडि बढ्ने मौखिक प्रतिबद्धता जनाएका थिए । र, त्यसमा पार्टीको औपचारिक निर्णय पर्खिने शर्त वामदेवले राखेका थिए । अहिले पनि उनी त्यही शर्तमा अडिग छन् ।

एमालेबाट दिएको राजीनामा पत्रमा उनले ओलीको कार्यशैलीमाथि चर्को विमती जनाएका छन् । ओलीले एमालेको नवौँ महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिल्यै अवलम्बन नगरेको, ओलीले गरेका कतिपय कामलाई पटक–पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि आफूलाई सुधार नगरेको, जबज तथा मदन भण्डारीका विचार र मान्यता ‘संविधानको सर्वोच्चता’ र ‘कानूनी राज्य’को सिद्धान्त पालना नगरेको, झण्डै दुई तिहाइ जनादेशलाई लत्याउँदै दुई–दुईपटक संविधानविपरीत निर्वाचित भंग गरेको आरोप गौतमले राजीनामा पत्रमा लगाएका छन् ।

यस्तै, ओलीले पार्टीको संगठनात्मक सिद्धान्त ‘जनवादी केन्द्रीयता’ र ‘सामुहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी’लाई पालना नगरेको, ओली व्यक्तिवादी र स्वेच्छाचारी दिशामा अगाडि बढेको, समकक्षी नेताहरूलाई अपमान, कारवाही र पार्टीबाट निष्काशन गर्नेजस्ता स्वेच्छाचारी र निरंकुश प्रवृत्ति र शैली अँगालेको, राष्ट्रपतिलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरुपयोग गरेको आरोप गौतमले राजीनामा पत्रमा लगाएका छन् ।

आफू (गौतम)समेत संलग्न भएर निर्माण भएको एमालेमा ओलीका गलत विचार, प्रवृत्ति र शैलीका कारण पार्टीमा रहिरहन असमर्थ भएकाले उपाध्यक्ष र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।

यस्तो छ गौतमको राजीनामा पत्र

 

प्रकाशित मिति: २१:१४ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्