Kathmandu Press

बाढीपहिरो र डुबानमा परी हालसम्म ११६ जनाको मृत्यु, १३६ घाइते 

काठमाडौं, भदौ १८ : अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार दिउँसोसम्म १ सय...
बाढीपहिरो र डुबानमा परी हालसम्म ११६ जनाको मृत्यु, १३६ घाइते 

काठमाडौं, भदौ १८ : अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार दिउँसोसम्म १ सय १६ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा ५३ जना पुरुष, ३४ जना महिला, १३ जना बालक र १६ जना बालिका रहेको प्रहरीले जनाएको छ। बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा १ सय ३६ जना घाइते भएका छन्। तीमध्ये ६८ जना पुरुष, ३७ जना महिला, २० जना बालक र ११ जना बालिका रहेका छन्।

घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ। साथै बाढीपहिरोमा परी ३१ जना बेपत्ता भएका छन्। तीमध्ये १९ जना पुरुष, ६ जना महिला, ५ जना बालक र १ जना बालिका रहेका छन्। बेपत्ताको खोजी कार्य जारी छ। बाढीपहिरोमा परेका १ हजार २ सय ८९ जनाको विभिन्न ठाउँबाट उद्धार गरी उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो।

बाढीको कारण ३ हजार १ सय ८२ वटा घर डुबानमा परेका छन्। ९ सय ७८ वटा घर, १ सय ६४ वटा गोठ, ६६ वटा पुल, ८ वटा विद्यालय र १५ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने १ हजार ३ सय ३ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा भएका जम्मा १ हजार ३ सय ४५ वटा विपद्‍का घटनाबाट १ हजार २ सय ६९ वटा घर परिवारका ६ हजार १ सय ११ जना मानिस विस्थापित भएका छन्।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन्। साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ।
 

प्रकाशित मिति: १७:३७ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्