Kathmandu Press

देशभर कांग्रेस वडा अधिवेशनको चहलपहल

काठमाडौं, भदौ १८ : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ भएको छ। कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६...
देशभर कांग्रेस वडा अधिवेशनको चहलपहल

काठमाडौं, भदौ १८ : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ भएको छ। कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये अधिकांश जिल्लामा आज वडा अधिवेशन सुरु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
 
कांग्रेसको प्रारम्भिक तहको वडा अधिवेशनमा पार्टीका नेताकार्यकर्ता आफ्ना जिल्ला तथा वडामा चुनावी माहोलमा केन्द्रित भएका छन्। कतिपय वडाहरुमा सहमतिका साथ वडाको नेतृत्व चयन गरिएको छ भने कतिपय वडाहरुमा निर्वाचन प्रक्रिया भइरहेको समितिले जनाएको छ तर कति वडाहरुमा आज निर्वाचन सम्पन्न भयो भन्ने तथ्याङ्क साँझसम्म मात्र उपलब्ध हुनेछ।
 
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली पनि क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ/नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने जानकारी दिए।
 
करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन्।

वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ। यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्।
 
मुलुकभरका सबै ६ हजार ७ सय ४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २ सय १ पदाधिकारी र सदस्य १ लाख २१ हजार ६ सय ८१ निर्वाचित हुने समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए। यसबाहेक मनोनीत हुनेको सङ्ख्या थप रहेको छ। 

त्यस्तै देशभरका वडाबाट १ लाख १४ हजार पाँच सय ७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्। महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन आज भदौ १८, गाउँ/नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ। 

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ।
 
मुलुक सङ्घीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ । यसअघि कांग्रेसको १३औँ महाधिवशेन २०७२ साल फागुनमा सम्पन्न भएको थियो। (रासस)

प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्