१४ सम्पदासहित १०३ वटा स्वास्थ्य परियोजनाका लागि भारतको ४ अर्ब २० करोड रुपैयाँ लगानी आउँदै
विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव श्री करुण वंसल र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ परियोजना निर्देशक श्री श्यामकिशोर सिंहको उपस्थितिमा दुवै पक्षले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
काठमाडौं, भदौ १८ : नेपाल र भारत सरकारबीच १४ वटा सांस्कृतिक सम्पदा परियोजना र १०३ वटा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि सम्झौता भएको छ।
भारत सरकारको ४२० करोड अनुदान सहयोगमा ती परियोजनाको पुनर्निर्माणका लागि सम्झौतापत्रमा आज (शुक्रबार) हस्ताक्षर गरिएको हो।
नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा १ सय ३ वटा स्वास्थ्य परियोजनाका पुनर्निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव श्री करुण वंसल र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ परियोजना निर्देशक श्री श्यामकिशोर सिंहको उपस्थितिमा दुवै पक्षले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
२०७२ सालको भूकम्पले क्षति पुगेका यी परियोजनाहरुको ४२० करोड रुपैयाँ अनुदान सहयोगमा पुनर्निर्माण गरिनेछ। दुवै स्वास्थ्य तथा सांस्कृतिक सम्पदा परियोजनाको कार्यान्वयन निकाय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रिय आयोजना कार्यान्वयन एकाइ (भवन) रहेको छ।
उक्त कार्यक्रममा भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का अधिकारीहरु तथा भारत सरकारको परियोजना परामर्शदाता इन्ट्याक र सिबिआरआईका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए।
शिक्षा, सांस्कृतिक सम्पदा, स्वास्थ्य क्षेत्रका लागि ५० मिलियन अमेरिकी डलर र आवास क्षेत्रका लागि १०० मिलियन अमेरिकी डलरका दरले भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत कूल २ सय ५० मिलियन अमेरिकी डलर विनियोजन गरेको छ।
भारत सरकारको अनुदान सहयोगमा ७ जिल्लामा ७१ वटा शैक्षिक परियोजना, २८ वटा सांस्कृतिक सम्पदा परियोजनाको निर्माण भइरहेको छ। त्यस्तै नेपालका १० जिल्लामा १ सय ४७ वटा स्वस्थ्य सुविधा र गोरखा र नुवाकोट जिल्लामा ५० हजार वटा घरहरुको निर्माण भइरहेको छ।
यी सबै क्षेत्रमा नेपाल सरकारले गरेको पुनर्निर्माण प्रयासमा हातेमालो गर्न प्रतिबद्ध रहेको भारत सरकारले जनाएको छ।











