क्लिन फिड लागू गराउने प्रावधान हटाउन सकिन्नँः मन्त्री बाँस्कोटा
काठमाडौं, साउन ६ : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक&rsq....

काठमाडौं, साउन ६ : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको क्लिन फिड लागू गराउने प्रावधान हटाउन नसकिने बताएका छन्।
सोमबार बसेको संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री बाँस्कोटाले राष्ट्रिय जनता पार्टी, नेपालका सांसदद्वय लक्ष्मणलाल कर्ण र एकवाल मियाँले सो विधेयकबाट क्लिन फिड लागू गराउने प्रावधान हटाउन राखेको संशोधन प्रस्ताव सरकारलाई मान्य नहुने पनि स्पष्ट पारेका हुन्।
राष्ट्रको हितसँग सम्बन्धित भएर सरकारले विधेयकमा सो प्रावधान राखेको स्पष्ट पार्दै उनले फिर्ता लिन पनि संशोधनकर्ता सांसदद्वय कर्ण र मियाँलाई आग्रह गरे। नेपालको हितलाई प्रवद्र्धन गर्ने तथा नेपालका कलाकार, मिडिया क्षेत्रलाई पनि समृद्धितर्फ अघि बढाउने भएकाले विधेयकको सो प्रावधान हटाउन नसकिने मन्त्री बाँस्कोटाको तर्क छ।
मन्त्री बाँस्कोटाले विज्ञापन बजारलाई नियमन गर्न राखिएको प्रावधान सय पटक छलफल गरेपनि हटाउने पक्षमा सरकार नरहेको पनि स्पष्ट पारे। मन्त्री बाँस्कोटाले क्लिन फिड मुलुकको राष्ट्रियता र रोजगारीसँग जोडिएकोतर्फ पनि समितिको ध्यानाकर्षण गराएका थिए।
बैठकमा समितिका सदस्यहरुले क्यासिनोहरुको विज्ञापन गर्न नपाउने प्रावधान विधेयकबाट हटाउन सरकारसँग माग गरेका थिए।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले सबैले व्यवसाय गर्न पाउने संवैधानिक हक विपरित सरकारले सो विधेयकमा क्यासिनोहरुको विज्ञापन गर्न नपाउने प्रावधान राखेकोमा आपत्ति जनाउँदै हटाउन माग गरे। उनले बाह्य पर्यटक भित्र्याएर ‘नेपाल भ्रमण वर्ष-२०२०’ लाई सफल बनाउन पनि क्यासिनोहरुको विज्ञापन गर्न पाउने व्यवस्था गर्न उपयुक्त हुने तर्क पनि गरे।
सांसदहरुले सो विधेयक र सूचना प्रविधिसँग सम्बन्धित विषयमा बाँझिएका कतिपय प्रावधान सच्याउन पनि सरकारलाई सचेत गराएका थिए।

-1784896419.png)









