Kathmandu Press

महाधिवेशन सफल बनाउन प्रधानमन्त्री देउवाको आह्वान

काठमाडौं, भदौ १८ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भक्तपुरका दुईवटा वडामा पुगेर अधिवेशनको उद्घाटन तथा अवलोकन गरेका छन्।उनले आज (शुक्रबार) भक्तपुरको मध्यपुर ठिमी...
महाधिवेशन सफल बनाउन प्रधानमन्त्री देउवाको आह्वान

भक्तपुर, भदौ १८ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गरेका छन्। 

भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुञ्जेमा आयोजित वडा अधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने बताए। 

सभापति देउवाले अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर पार्टीमा एकताको सन्देश दिन आग्रह गर्दै महाधिवेशन पार्टीलाई एकतावद्ध बनाएर लैजाने र आगामी कार्यकालको लागि कार्यनीति र नेतृत्व चयन गर्ने थलो भएके बताए।

उनले कांग्रेसको वैधानिकता जोगाउनका लागि कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच महाधिवेशन गर्नुपरेको उल्लेख गर्दै महाधिवेशनलाई सफल बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अधिवेशनमा सहभागी हुन सबैमा आह्वान गरे। 

एमालेका एक नेताले भक्तपुरमा चुनाव लड्न गरेको चुनौतीको जवाफ दिँदै प्रधानमन्त्री देउवाले आफूसँग नभई जिल्ला सभापति दुलर्भ थापालाई निर्वाचनमा हराएर देखाउन चुनौती पनि दिए।

प्रधानमन्त्री देउवाले आगामी चुनावमा कांग्रेसको उपस्थिति बलियो रहने बताउँदै भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको बताए। 

उनले पार्टीले महाधिवेशनको प्रक्रिया सुरुआत भएको भन्दै लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गरी पार्टीलाई थप सशक्त ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरे। 

कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले कांग्रेसको महाधिवेशन वडास्तरबाट सुरु भइसकेको बताउँदै यसलाई सफल पार्न आग्रह गरे। उनले भने, ‘कांग्रेस मुलुकको जेठो र लोकतान्त्रिक पार्टी हो। कांग्रेसको महाधिवेशनको सफलताले मुलुकको लोकतन्त्रको भविष्य पनि जोडिएको छ।’
     
कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले गुन्डागर्दीबाट चुनाव जित्ने सपना नदेख्न भन्दै भक्तपुरमा अब कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गरे। उनले अबको स्थानीय तहदेखि सङ्घीय निर्वाचनसम्ममा कांग्रेस विजय सुनिश्चित रहेको बताए। 

कार्यक्रम कांग्रेसका वडासभापति राजु ढुंगेलको सभापतित्वमा सम्पन्न भएको थियो। भक्तपुरको चारवटै नगरपालिकाका ३८ वटा वडामा वडा अधिवेशन शुरु भएको बताउँदै थापाले जिल्लाका करिब ५० प्रतिशत वडामा नेतृत्व चयनमा सर्वसहमति गरिसकेको र बाँकीमा पनि प्रयास भइरहेको बताए।

भक्तपुर जिल्लामा कांग्रेसका १० हजार २ सय ८६ क्रियाशील सदस्य छन । तीमध्ये निर्वाचन क्षेत्र १ मा ३ हजार ७८२ र क्षेत्र नं २ मा ६ हजार ५०४ जना छन्।

प्रकाशित मिति: १३:१५ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्