५६ जिल्लामा कांग्रेसका वडा अधिवेशन, वडाबाट छानिन्छन् करिब १५ हजार प्रतिनिधि
कांग्रेसले ५६ वटा जिल्लामा शुक्रबार वडा अधिवेशन गर्दैछ । तीमध्ये केही जिल्लामा बाढी, पहिरोका कारण वडा अधिवेशन पर सारिएको छ ।काठमाडौं, भदौ १८ : कांग्रेसले ५६ वटा जिल्लामा शुक्रबार वडा अधिवेशन गर्दैछ । तीमध्ये केही जिल्लामा बाढी, पहिरोका कारण वडा अधिवेशन पर सारिएको छ ।
वडा अधिवेशनसँगै पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया सुरु भएको छ । कांग्रेसले ५६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेर वडा अधिवेशनका लागि बाटो खोलेको हो । क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएका जिल्लामा केन्द्रबाटै निर्वाचन अधिकृतहरू खटाइएको छ ।
सूची प्रकाशित भएका नुवाकोट, प्युठान, बाग्लुङ, झापालगायत जिल्लाले बाढी पहिरोका कारण निर्वाचन सामग्री नआइसकेको बताउँदै वडा अधिवेशन पर सारेका हुन् ।
७७ वटै जिल्लाका वडा अधिवेशनबाट करिब १५ हजारजना प्रतिनिधि छनोट हुने छन् । कांग्रेसको विधानअनुसार वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् । यसपटक दलित, महिला, मधेशी, मुस्लिम, थारूलगायत समावेशी समूहका प्रतिनिधि अनिवार्य छनोट हुने व्यवस्था कांग्रेसले गरेको छ । सोही कारण यसपटक कांग्रेसमा यसअघिभन्दा बढी समावेशी प्रतिनिधित्व हुँदैछ ।











