आन्तरिक लोकतन्त्रलाई सबल बनाउन स्वस्थ प्रतिस्पर्धा अनिवार्य हुन्छ : डा.कोइराला
काठमाडौं, भदौ १८ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्।आजदेखि कांग्रेसको १४औं महाधिवेशन प्रारम्भ...
काठमाडौं, भदौ १८ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्।
आजदेखि कांग्रेसको १४औं महाधिवेशन प्रारम्भ हुन लागेको छ। महाधिवेशनको प्रारम्भमा अपील जारी गरी नेता डा. कोइरालाले सबैलाई महाविधेशनमा सहभागी हुन आग्रह गरेका छन्।
उनले कांग्रेसको इतिहास जतिकै वर्तमानलाई पनि गौरवशाली बनाउन महाधिवेशनमा सहभागी हुनुपर्नेमा जोड दिएका छन्। 'कांग्रेसको इतिहास जति गौरवशाली छ, वर्तमान आफ्नै इतिहास सुहाउँदो छैन। यसैले पार्टीलाई पुनःगौरवशाली बनाउने दृढ संकल्पका साथ हामी सवै महाधिवेशनमा सरिक हुनुपर्नेछ,' डा. कोइरालाले भनेका छन्, 'आन्तरिक लोकतन्त्रलाई सबल बनाउन स्वस्थ प्रतिस्पर्धा अनिवार्य हुन्छ। यसले पार्टी भित्र ताजा अक्सिजनको सञ्चार हुन्छ, पार्टीलाई चलायमान बनाउँछ।'
आन्तरिक प्रतिस्पर्धालाई जित र हारभन्दा माथि राख्न आग्रह गरेका छन्। 'पार्टीमा हुने आन्तरिक लोकतान्त्रिक अभ्यासलाई जित र हार भन्दा माथि राख्न सक्दा नेपाली कांग्रेसको महाधिवेशन उदाहरणीय हुनसक्छ,' उनले भनेका छन्, 'स्वस्थ र शालिन प्रतिस्पर्धाले कांग्रेसको छवि राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा समेत उचाइमा पुग्नेछ।'
डा. कोइरालाले महाधिवेशनलाई उत्सवका रुपमा लिनुपर्ने बताएका छन्। यस अवसरलाई गुट र गिरोह समाप्त गर्न प्रयोग गर्नुपर्ने उनको भनाइ छ।
'हामीले विगतमा पार्टी भित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन सकेनौं। यही कारण आम निर्वाचनमा हामी कम्युनिष्ट भन्दा कमजोर हुन पुगेका हौँ। कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त एक नम्वरको पार्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ,' डा. कोइरालाले भनेका छन्, 'त्यस्तै पार्टी भित्र नयाँ संस्कार र पद्धति निर्माणको लागि पर्खन हामीसँग समय छैन। उत्सवको रुपमा आएको चौधौं महाधिवेशनलाई हामी ‘गुट र गिरोह’ समाप्त गर्न सफलिभूत हुनुपर्नेछ।'




-1789304248.jpg)






-1789304248.jpg)