Kathmandu Press

महाधिवेशनको प्रारम्भमा देउवाको सन्देश : पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो

१४औं महाधिवेशनको प्रारम्भमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भिडियो सन्देश जारी गर्दै आन्तरिक प्रतिस्पर्धाले लोकतन्त्र बलियो बनाउने बताएका छन्।
महाधिवेशनको प्रारम्भमा देउवाको सन्देश : पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो

काठमाडौं, भदौ १८ : १४औं महाधिवेशनको प्रारम्भमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भिडियो सन्देश जारी गर्दै आन्तरिक प्रतिस्पर्धाले लोकतन्त्र बलियो बनाउने बताएका छन्।

आजदेखि कांग्रेसको महाधिवेशन सुरु हुँदै छ। आज वडा अधिवेशन हुन लागेका छन्। देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको छ।’

उनले महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता कार्यकर्तालाई अनुरोध पनि गरेका छन्। भिडियो सन्देशमार्फत भनेका छन्, ‘संवैधानिक बाध्यताले गर्दा कोरोना महामारीबीच हामीले सुरु गर्नु परेको महाधिवेशनमा सर्वप्रथम सामाजिक दूरी कायम गरि सहभागी हुन नेपाली कांग्रेसका तमाम साथीहरुलाई हार्दिक अनुरोध गर्दछु।’

आजदेखि क्रियाशील सदस्य महाधिवेशनमा सहभागी हुने भएकोमा देउवाले खुशी व्यक्त गरेका छन्। ‘हाम्रो पार्टी कांग्रेस लोकतान्त्रिक प्रक्रियामा सधै आफूलाई अग्रणी सावित गर्दै आएको छ। नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीको आन्तरिक लोकतन्त्रमा पनि नेपाली कांग्रेस नै अगाडि छ,’ देउवाले भनेका छन्, ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो।’

उनले देशभरका कांग्रेस नेता तथा कार्यकर्तालाई सकभर सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका छन्। ‘देशभरका साथीहरुलाई लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धा मार्फत सहभागी हुन अनुरोध गर्दछु,' देउवाले भनेका छन्, ‘स्वस्थ प्रतिस्पर्धाले पार्टीको संगठनलाई मजबुत बनाउँदै जनजनमा लोकतन्त्रको रक्त सञ्चार गर्दछ।'

उनले 'बलियो कांग्रेस, समृद्ध देश' भन्ने नारालाई सार्थक बनाउन आग्रह गरेका छन्। 'संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली कांग्रेसलाई बलियो बनाउन जरुरी छ। नेपाली जनताले बुझिसकेका छन्, बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ,' देउवाले भनेका छन्, 'त्यसैले बलियो कांग्रेस, समृद्ध देश भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीभाइहरुलाई आग्रह गर्न चाहन्छु।'

भिडियो सन्देशमा देउवाले जनताको विश्वास जितेर अघि बढ्ने प्रण गरेका छन्। उनले भनेका छन्, 'कांग्रेसको विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले कांग्रेसकै काँधमा आएको छ। म तपाईहरुलाई जनताको विश्वास जितेर अघि बढ्ने प्रण पनि यो भिडियो सन्देशमार्फत गर्न चाहन्छु।'

यससँगै नेता तथा कार्यकर्तालाई गाउँगाउँको भावना बोकेर अघि बढ्न आग्रह गरेका छन्। 'हामी १४औ महाधिवेशन मार्फत शसक्त कांग्रेस बनाउने अभियानमा होमीई सकेका छौं। पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफुलाई गांस्दै,  हरेक टोलको भावनाको नेतृत्व गर्दै,  ति सबै मुद्दा  र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्‍याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु,' देउवाले भनेका छन्।

प्रकाशित मिति: ०८:१६ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्