दार्चुला घटना छानविन समितिको प्रतिवेदन अस्पष्ट : एमाले
संघीय संसदमा प्रमुख प्रतिपक्षी दल एमालले दार्चुला घटना छानविनका लागि गठित समितिको प्रतिवेदन अस्पष्ट रहेको दाबी गरेको छ ।
काठमाडौं, भदौ १७ : संघीय संसदमा प्रमुख प्रतिपक्षी दल एमालले दार्चुला घटना छानविनका लागि गठित समितिको प्रतिवेदन अस्पष्ट रहेको दाबी गरेको छ ।
१५ साउनमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का सुरक्षाकर्मीले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । घटनाको अनुसन्धान गर्न सरकारले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।
उक्त प्रतिवेदन अस्पष्ट रहेको एमालेको दाबी छ । र, सरकारले त्यस घटनालाई थामथुम पार्ने प्रयास गरेको आरोप एमाले सचिव प्रदीप ज्ञवालीले बिहीबार विज्ञप्तिमार्फत लगाएका छन् ।
उनले विज्ञप्तिमा अविलम्ब घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारवाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न विज्ञप्तिमा माग गरेका छन् ।
समितिले आफ्नो प्रतिवेदनमा घटनामा एसएसबीका सुरक्षाकर्मीको संलग्नता देखिएको उल्लेख गरेको छ । यस्तै, बिहीबार गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै घटनाका सम्बन्धमा छानविन गरी दोषी भारतीय सुरक्षाकर्मीमाथि कारवाहीका लागि कूटनीतिक पहल गर्न आग्रह गरिसकेको छ ।











