एनआरएनए अध्यक्षमा तीनजनाको उम्मेदवारी : प्रतिनिधिहरूको रोजाइमा रविना
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति आईसीसीको आगामी अक्टोबरमा हुने १० औँ महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन्। रविना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।
काठमाडौं, भदौ १७ : गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति आईसीसीको आगामी अक्टोबरमा हुने १० औँ महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन्। रविना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।
थापा र आर्चाय प्रजातान्त्रिक समूहका हुन् भने केसी एमालेको केपी ओली समूहका हुन् । तीन प्रतिस्पर्धीमध्ये थापा बलियो उम्मेदवार मानिएको छ ।
अमेरिका निवासी थापा आईसीसी सन् २०१९ देखि २०२१ को उपाध्यक्ष हुन् । त्यसअघि थापा सन् २०१५ देखि २०१७ सम्म अमेरिकाको एनसीसी उपाध्यक्ष थिइन् । थापालाई विभिन्न संघसंस्था हाँकेको राम्रो अनुभवसमेत छ । उनलाई युवा र महिलाको साथ र समर्थन छ । थापाले नेपाली जनसम्पर्क समिति जापानको संस्थापक र अमेरिकाको संस्थापक सदस्यमा रही काम गरिसकेकी छन् ।
उम्मेदवार थापाले आफू आईसीसीको अध्यक्षमा सक्षम र योग्य उम्मेदवार रहेको बताउँदै उम्मेदवारी दिने जानकारी दिएकी छन् । उनले भनिन्, ‘मेरो उम्मेदवारी कुनै प्रकारको बार्गेनिङ होइन् ।’ उनले विश्वभरि रहेका नेपाली युवा र महिलाको साथ र समर्थनमा आफूले उम्मेदवारी दिन लागेको प्रष्ट पारिन् । ‘यो १८ वर्षको इतिहास हेर्दा आईसीसीको अध्यक्ष पुरुष मात्र बन्नु भएको छ, अब पालो महिला हो,’ थापाले भनिन् ।
उनले आफ्नो उम्मेदवारीविरुद्ध मनगढन्ते हल्ला र भ्रम फैलाइएको बताइन् । ‘विभिन्न सञ्चार माध्यममा मेरो उम्मेदवारी फिर्ता भनेर हल्ला र भ्रम फैलाइएको छ, त्यसको पछि नलाग्न सबैलाई आग्रह गर्छु ।’
विभिन्न देशका प्रतिनिधिबाट समर्थन
रविना आफैँमा स्वाभाविक रूपमा अहिलेको अध्यक्षको उम्मेदवार भएको सन् २०२१ –०२३ का आईसीसीको सचिव पदका प्रत्यासी शंकर खड्का बताउँछन् । सबैलाई मिलाएर लैजान सक्ने क्षमता रविनामा रहेको उनले बताए ।
‘महिलालाई अगाडि बढाउने बोलीमा मात्र सीमित भयो तर व्यवहारमा कार्यान्वयन भएन,’ उनले भने ।
अहिले सबैलाई मिलाएर लैजान सक्ने सक्षम र योग्य महिला आईसीसीको अध्यक्षमा उठ्छु भन्दा किन साथ नदिने त ?’ उनले भने । महिलालाई अगाडि बढ भन्ने तर बढ्न खोज्दा खुट्टा तान्ने प्रवृत्ति हटाउनुपर्ने उनको भनाई छ ।
रविना एक सक्षम र योग्य महिला भएकाले उनलाई सबैले सहयोग गर्नुपर्ने यस्तै, सन् २०२१ –०२३ का लागि आइसीसीको महासचिवका प्रत्यासी विनय अधिकारी बताउँछन् । उनका अनुसार एनआरएनएमा महिला नेतृत्वको विषय भाषणमा मात्र सीमित थियो । ‘तर, अब एक महिला अगाडि बढ्न खोज्नुभएको छ । उहाँलाई साथ दिएर व्यवहारमा कार्यान्वयन गर्ने मौका हामीले पाएका छौँ । त्यो गुमाउनु हुँदैन,’ उनले भने ।











