Kathmandu Press

जनप्रतिनिधि जोगाउन र तान्न प्रदेश-२ मा जसपा र लोसपाका नेताहरूको दौडधुप

स्थानीय तहका जनप्रतिनिधि आफूसँगै राखिरहन र आफूतिर तान्न यतिबेला जसपा र नवगठित लोसपाका नेताहरू प्रदेश-२ मा दौडधुपमा छन्।
जनप्रतिनिधि जोगाउन र तान्न प्रदेश-२ मा जसपा र लोसपाका नेताहरूको दौडधुप

काठमाडौं, भदौ १७ : स्थानीय तहका जनप्रतिनिधि आफूसँगै राखिरहन र आफूतिर तान्न यतिबेला जसपा र नवगठित लोसपाका नेताहरू प्रदेश-२ मा दौडधुपमा छन् ।

मातृ पार्टी जसपाबाट नवगठित दलमा स्थानीय तहका जनप्रतिनिधि आफूतिर तान्न लोसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायत शीर्ष नेताले प्रदेश–२ का आठ जिल्लामा आफूलाई केन्द्रित गरेका छन् । उनीहरूको रणनीति सफल हुन नदिन जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेता पनि प्रदेश–२ को दौडमा छन् ।

लोसपा केन्द्रीय कार्यकारिणी सदस्य केशव झा २२ भदौपछि मात्र कति जनप्रतिनिधिले नवगठित पार्टी रोजे भन्ने स्पष्ट हुने बताउँछन् । लोसपा अध्यक्ष ठाकुर, महतोलगायत नेता बिहीबार धनुषाका जनप्रतिनिधिहरूसँग छलफलमा छन् ।

जनप्रतिनिधिलाई आफूतिर तान्ने उद्देश्यले लोसपा अध्यक्ष ठाकुरले आफ्नो पार्टीका नेताहरू महतो र शरतसिंह भण्डारीसँगै जनकपुरलाई मुकाम बनाएका छन् । आफ्ना जनप्रतिनिधिलाई रोक्न जसपा अध्यक्ष यादव पनि बिहीबार जनकपुर पुगेका छन् ।

जसपा केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रदेश सांसद मनिष सुमन भने स्थानीय तहका जनप्रतिनिधि तान्ने लोसपाको रणनीति सफल नहुने बताउँछन् । भन्छन्, ‘नेपाली जनताले पार्टी फुटलाई स्वीकार गर्दैनन् । जनप्रतिनिधिहरू आफ्नै बुझ्ने छन् र मूल पार्टीमै रहन्छन् ।’

विगतमा एमालेबाट माले, कांग्रेसबाट कांग्रेस (प्रजातान्त्रिक), डा. बाबुराम भट्टराईले माओवादीबाट अलग भएर नयाँशक्ति, अशोक राईले एमालेबाट समाजवादी पार्टी अलग भए पनि कालान्तरमा मुल पार्टीमै फर्किनुपरेको या अन्य दलसँग एकता गर्नुपरेको उनी उदाहरण दिन्छन् । ‘पार्टी फोडेका कोही टिकेको देखिँदैन,’ सुमन भन्छन्, ‘आज जसपा फोडेर लोकतान्त्रिक समाजवादी पार्टी फोड्नेहरू पनि टिक्दैनन्, चुनावपछि जसपामै मिल्नुपर्नेछ ।’

तत्कालीन सद्भावना पार्टी फोडेर समाजवादी जनता दल, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी), त्यसलाई पनि फोडेर नेपाल सद्भावना पार्टी, सद्भावना पार्टीलाई राजपामा लगेर मिसाइएको, त्यसपछि राजपालाई जसपा बनाएर मधेशकेन्द्रित राजनीति गर्ने केही नेताले पार्टी फोड्ने महारथ नै हासिल गरेको सुमनको विश्लेषण छ ।

लोसपा नेताहरूले जनप्रतिनिधिहरूलाई लोभलालच, दबाब दिएर आफूतिर तान्न खोजिरहेको उनको दाबी छ । संघीय संसद्मा संसदीय दलको नेता बन्न नपाएको झोंकमा राजेन्द्र महतोको जोडबलमा जसपा फोडिएको उनको आरोप छ ।

प्रदेश–२ मा ११ जना सांसदले लोसपाको पक्षमा बुधबार सनाखत गरेका छन् । प्रदेश–२ मा तत्कालीन राजपाका २५ सांसद थिए । अहिले आधाभन्दा कम सांसदले मात्र लोसपा रोजेका छन् । स्थानीय तहमा पनि न्यून संख्याका जनप्रतिनिधिले मात्र लोसपा रोज्ने उनको तर्क छ ।

प्रकाशित मिति: १३:३३ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्