रेडियो व्यायामको प्रेममा कसरी पर्यो जापान
“एक, दुई, तीन, चार...पाँच, छ, सात, आठ....” टोकियोको कामेजुका पार्कमा आधा दर्जन मानिस व्यायाम गर्दैछन्।
उनीहरूको प्रशिक्षक एउटा “पोर्टेबल रे....
“एक, दुई, तीन, चार...पाँच, छ, सात, आठ....” टोकियोको कामेजुका पार्कमा आधा दर्जन मानिस व्यायाम गर्दैछन्।
उनीहरूको प्रशिक्षक एउटा “पोर्टेबल रेडियो” बालबालिका खेल्ने चिप्लेटीमाथि टक्रक्क राखिएको छ। रेडियोबाट कुनै पुरूषको आवाज आइरहेको छ। आवाजसँगै पृष्ठभूमिमा बजिरहेको पियानोको संगीतले निकै उर्जा दिइरहेको छ।
यो रेडियो व्यायाम जापानको दैनिक जीवन बनेको छ। यसलाई “राजियो ताइसो” भनिन्छ।
युकिहिडे मारूयामा तीन मिनेटको व्यायाम दिनको सुरूवात गर्ने सर्वोत्तम तरिका भएको बताउँछन्। मारूयामा ७९ वर्षीय अवकाशप्राप्त व्यापारी हुन्। उनी एक दशकदेखि दैनिक यस्तो व्यायाम गर्दै आइरहेका छन्। “व्यायामहरू कठिन हुँदैनन्। व्यायामपछि शरिर फुर्तिलो भएको अनुभव हुन्छ” उनले भने।
सम्राट हिरोहितोले औपचारिक रूपमा गद्दी आरोहण गरेको खुशियालीमा हुलाक कार्यालयको स्वास्थ्य ब्युरोले सन् १९२८ मा राजियो ताइसो सुरू गरेको थियो। राजियो ताइसो अमेरिकी बीमा कम्पनी मेट्रोपोलिटन लाइफको बिहानको व्यायामबाट प्रेरित थियो। त्यसयता जापानको यो सामुदायिक व्यायाम बिरलै परिवर्तन भएको छ।
टोकियोले २०२० को ओलम्पिक्स र प्यारालिम्पिक्स आयोजना गर्दैछ। जापानको क्यालिस्थेनिक्स समुदाय राजियो ताइसोको लोकप्रियता बढाउन चाहन्छ। यो महिनाको अन्त्यमा देशका सबै ४७ ओटा प्रिफेक्चर र रंगशालाभित्र हुने १२ हजारसहित एक करोड मानिसले सामूहिक व्यायाम गर्ने तयारी चलिरहेको छ।
दोस्रो विश्वयुद्धमा जापानको हारपछि मित्र शक्तिले सैन्यवादसँग नजिकको सम्बन्ध भएको भन्दै राजियो ताइसो निषेध गर्यो। तर सन् १९५१ मा शिक्षा र स्वास्थ्य मन्त्रालयले विज्ञ र जीवन बीमा उद्योग सम्मिलित टोली बनाएर एनएचके रेडियोबाट प्रसारण हुने गरी नयाँ कार्यक्रम विकास गर्यो।
सन् २००३ मा, दुई करोड ७९ लाखले बिहान क्यालिस्थेनिक्स गर्ने गरेको बताए। काममा होस्, घरमा टेलिभिजनअघि वा छिमेकीहरूसँग पार्कमा उनीहरूले साताको दुई पटकभन्दा धेरै व्यायाम गर्थे। बालबालिकाले पनि विद्यालयको खेलकुद दिवसअघि वा गर्मीको विशेष विदामा राजियो ताइसो गर्ने गर्छन्। यसो गर्दा उनीहरूले क्रेडिट पाउँछन् र खाजा, स्टेशनरी र अन्य उपहारसँग साट्न सक्छन्।
राजियो ताइसो गर्नेहरू जापानी समाजमा थुप्रै छन्। निमार्ण क्षेत्र, कारखाना र कार्यालयका कर्मचारी सबै सहभागी हुन्छन्। टोकियो महानगरका दश हजार कर्मचारीलाई हरेक साताको पहिलो दिन अपराह्न तीन बजे डेस्कबाट उठेर हिँडडुल गर्न प्रोत्साहन गरिन्छ। एनएचकेबाट आइतबारबाहेक बिहान साढे ६ बजेदेखि दिनमा चारपटक व्यायाम बजाइन्छ। टेलिभिजनबाट सप्ताहन्तबाहेक दैनिक तीन पटक प्रसारण हुन्छ।
राजियो ताइसोका दुई प्रकार छन्। दोस्रो पहिलोभन्दा थोरै कठिन छ। पाखुरा घुमाउने, अगाडि झुक्ने, उफ्रेर दुवै खुट्टा फार्ने र एरोबिकका अन्य कसरत यसमा गरिन्छ। यसले प्रत्येक मांशपेसी सक्रिय बनाउँछ र सहभागीको सास पनि थोरै बढाउँछ। सन् १९९९मा ह्वीलचेयर वा हिँडडुल गर्न समस्या भएका व्यक्तिका लागि अर्को कसरत पनि थपियो।
“यसरी दिनमा केही मिनेट मात्रै व्यायाम गर्नेहरूकोहाडको सघनतामा सुधार हुने, हृदयाघाट्टको जोखिम कम हुने र व्यायाम नगर्नेको तुलनामा तन्दुरूस्त हुने अध्ययनले देखाएका छन्,” जापान रेडियो ताइसो फेडेरेसनका महासचिव यासुओ फुकुशीले भने।
“कार्यक्रमको आधुनिकीकरणका लागि कहिले पनि दबाव आएन किनभने मानिसहरू यसैसँग हुर्किए र उनीहरूलाई यसो गर्न मनदेखि नै आउँछ,” फुकुशी भन्छन्। यो नै जापानीहरूको दीर्घायुको कारण भएको उनको विश्वास छ।
“पानी पर्दा पनि हामी यस्तो गर्छौं,” तोमोमि ओकामोतोले भनिन्। मौसम जस्तोसुकै होट्ठ् कामेजुका पार्कमा हुने सबै सत्रमा उनी उपस्थित हुन्छिन्। “यसले रगत तताउँछ र पछि फुर्तिलो अनुभव हुन्छ। दिनको सुरूवात गर्ने यो गज्जबको तरिका हो,” उनी भन्छिन्, “तर यो कसरत मात्रै होइन। छिमेकीसँग सञ्चार गर्ने र चिनजान बढाउने तरिका पनि हो।”
जापानी समुदाय धेरै भएको ब्राजिल, पेरू लगायत अन्य देशमा पनि राजियो ताइसो लोकप्रिय छ। बेलायतले पनि पाका उमेरका व्यक्तिलाई यो कसरत प्रोत्साहन गरेको छ। अप्रिलमा स्पोर्ट इङ्ग्लयान्डले पाका उमेरका व्यक्तिका लागि “टेन टुडे” कार्यक्रम सुरू गर्यो।
कार्यक्रम अन्तर्गत १० मिनेटको कसरत कार्यक्रम अनलाइन प्रसारण हुन्छ र दुई वटा सामुदायिक रेडियो स्टेसनमार्फत सातामा तीन पटक प्रसारण हुन्छ।
दि गार्जियनबाट