Kathmandu Press

बाँसमै जीवन : सजावटका सामानबाट जीविकोपार्जन

५१ वर्षीय सानुभाइ पहरीले बाँसबाट बनाउने सजावटका सामग्री नै जीविकोपार्जन गर्ने माध्यम बनेका छन्। हातैले बनाउने ती सामान खरिद गर्न पुरानो मात्र होइन, नयाँ पुस्ता पनि आकर्षित हुन थालेको छ।
बाँसमै जीवन : सजावटका सामानबाट जीविकोपार्जन

काठमाडौं भदौ १७ : शुुभकार्य, मृत्युु संस्कार, घरेलु प्रयोजनमा प्रयोग हुने बाँसका हस्तकलाका सामग्री जीविकोपार्जनको माध्यम पनि बन्न सक्छन् भन्ने उदाहरण हुन् ५१ वर्षीय सानुभाइ पहरी । 

ग्रामीण भेगमा घर बनाउन पनि प्रयोग गरिने बाँसलाई सहरमा रेस्टुुराँलगायत सार्वजनिक स्थलमा सजावटका सामान बनाउन उपयोग गरिन्छ । पहरीले त्यस्तै सामग्री बनाएर चर्चासँगै जीवनचर्या चलाइरहेका छन् । सहरी क्षेत्रमा अचेल बाँसको गौवामा चिया र बिर्यानी बनाएर युुवा पुुस्ताले व्यवसाय पनि चलाएका छन् ।

पहरीले नौ वर्षयता बाँसबाट सजावट सामग्री बनाएर स्वदेशी–विदेशी ग्राहक बटुुल्दै छन् । महाराजगञ्ज पानीपोखरी चोकबाट प्रहरी तालिम केन्द्र जाने दायाँतर्फ छ, ‘सानुु बेम्बो सप’ । लाजिम्पाटबाट प्रहरी तालिमकेन्द्र हुुँदै चक्रपथ सडकतर्फ आउजाउ गर्र्ने हरेकको आँखा सानुु बेम्बो सपमा पर्छ ।

Hardik ivf

बाह्य सजावटका सामग्री मात्र प्रयोग गरेकालाई भने निकै आधुुनिक र नौलो लाग्छ, बाँसबाट बनाइएका सजावटका सामग्री । ‘नेपाली उत्पादनलाई अहिले माया गर्न थालिएको छ,’ पहरी भन्छन् ।

पसलमा बसेर सजावटका सामग्री बनाउँदै गरेको भेटिने ग्राहकले उनलाई सोध्छन्, ‘यो डाली तपाईं आफैँले बनाउनुुभएको हो ? अनि यो टोकरी नि ?’ सबै सजावटका सामान आफैँले बनाएको भन्दा ग्राहक अचम्मित हुन्छन् ।

उनले यो पसल सुरु गरेको नौ वर्ष बित्यो । सुरुको लगानी तीन लाख रुपैयाँ थियो । ‘पहिला धेरै सजावटका सामग्री बनाउन आउँदैनथ्यो,’ उनले भने, ‘पसलमा बस्दै गर्दा फुुर्सदको समयमा नयाँ–नयाँ सामान बनाउन आफैँ सिकेको हुुँ ।’ अहिलेसम्म कतै गएर सिकेका छैनन् उनले । सबै सामग्री बाँस, किला र गम प्रयोग गरेर बनाउँछन् ।

उनले बाँसबाट बनाइएको मुुडा देखाउँदै भने, ‘यो आज भर्खर बनाइसकेँ । यसलाई बनाउन एक घना बाँस लाग्यो ।’ त्यो मुुडा तीन–चार दिन लगाएर तयार पारे उनले । ‘एक हजार रुपैयाँसम्ममा बिक्री गर्न पाएमा ज्याला र खर्च उठ्थ्यो,’ उनले भने ।

बाँसका गाँठा निकाल्छन् । त्यसपछि खुुर्पाले स–साना कप्टेरा बनाउँछन् । ती कप्टेरा दायाँ–बायाँ बंग्याउन सक्ने हुुन्छन् । त्यसैले ती कप्टेरालाई आवश्यकताअनुुसार आकार दिन सकिन्छ । हात देखाउँदै उनले भने, ‘पहिला बाँसलाई पातलो कप्टेरो निकाल्न कठिन हुुँदा हात धेरैपटक काटेको थियो ।’

उनका अनुसार सजावटका सामग्री बनाउँदा बाँसका स–साना टुक्रा काँडाको रूपमा हातमा बिझ्छन् । हतियार चलाउनुपर्ने भएकाले हात काट्ने डर पनि हुन्छ । विगतमा उनले सजावटका धेरै सामग्री बनाउन सिकेका थिएनन् ।

ललितपुर गोदावरी नगरपालिका–४ बडिखेलमा उनको स्थायी बसोबास हो । पानीपोखरीमा व्यवसाय चलाउन उनी भाडाको घरमा बस्छन् अहिले । ‘पहिला घरबाटै आवतजावत गरेँ । आउन–जान समस्या भएकाले अहिले पसलनजिकै भाडामा बस्छुु,’ उनले भने, ‘बाँसबाट आवश्यक सामग्री बनाउनुु हाम्रो पुख्र्यौली पेशा हो ।’

१० पुुस ०२७ मा गोकुुल पहरी र डेलमायाको कोखबाट जन्मेको उनले बाल्यकालदेखि नै हजुुरबा, हजुुरआमा र बुुवाले बाँसबाट नाङ्लो, डालो, डोको, थुन्से बनाएको देखे । बुुवा, हजुुरबाले भने धेरै सामान बनाउँदैनथे । नाङ्लो, डोको, डालो र थुुन्से बनाउँथे । र, त्यही  बेचेर गुुजारा चलाउँथे । पुख्र्यौली पेशा भएकाले १६–१७ वर्षको उमेरमै बाँसका सामग्री बनाउन सिकेका हुन् उनले । ‘अहिले त्यही बाल्यकालमा सिकेको सीपलाई गुुजारा चलाउने माध्यम बनाएको छु्,’ उनले भने ।

उनका अनुसार पहिला उनले च्याउ खेती गरे, त्यसपछि कुुखुुरापालन । अन्य कुुनै व्यवसाय फस्टाउन नसकेपछि पुख्र्यौली पेशामा फर्किए । ‘सुरुका दिनमा त्यति धेरै सजावटका सामग्री बनाउन आउँदैनथ्यो, विस्तारै बजारको मागअनुसार बनाउन थालेको छुु,’ पहरीले भने, ‘अहिले कोभिड–१९ का कारण अलि व्यपार खस्किएको छ, पहिला राम्रै आम्दानी हुुन्थ्यो ।’

कोभिड–१९ महामारी अघिसम्म उनले मासिक ४०–५० हजार रुपैयाँसम्म आम्दानी गर्थे । अहिले भने घटेर २०–२५ हजारमा खुम्चिनुपरेको छ । बाँसबाट बनाइएका सामग्री ५० देखि पाँच हजारसम्ममा बिक्री गर्छन् ।

बाँसका सामग्री लामो समय टिकाउन पानीबाट जोगाउनुुपर्छ । पानीबाट जोगाउन सकिएन भने ढुुसी पर्ने र लेऊ लाग्ने जोखिम हुन्छ । मक्किएका सामग्रीमा ग्राहकको आँखा नपर्नु स्वाभाविकै हो । कोभिड–१९ महामारी अघिसम्म उनले बनाएका सामान खरिद गर्न विदेशी पर्यटक पनि आउँथे । अहिले भने आन्तरिक ग्राहकमा सीमित बन्नुपरेको छ ।

उनको पसलमा बाँसका डालो, थुन्से, भकारी, गमला, नाङ्लो, हाते झोला, गमला, मुुडा, जुुत्ता राख्ने ¥याक, कुर्सी, कपडा राख्ने ह्याङ्गर, ल्याम्पलगायत सजावट र भान्सामा प्रयोग हुुने सामान राखिएको छ । ती सबै उनी आफैँले बनाएका हुन् ।

‘पहिले बाँसको ढुंग्रोमा गाईभैंसीको दूध दुहुने चलन थियो, जुन विस्तारै हराउँदै छ । मकै भुट्ने कप्टेरा र आगो फुक्ने ढुंग्री पनि बाँसबाटै बन्छन् भन्ने त अब धेरैले बिर्सिसके,’ उनले भने, ‘ग्यास बाल्नेलाई आगो फुुक्ने ढुुंग्री कसरी थाहा हुुन्छ त ?’

ग्रामीण क्षेत्रमा कतै कतै बाँसका सामान प्रयोग गर्ने चलन अद्यापि छ । सहरी क्षेत्रमा भने हराइसकेको छ ।

गत आइतबार साँझ उनी पसलमा बसेर बाँसको मुुडा बनाउँदै थिए । तर, उनको अनुहारमा कोभिड–१९ ले थला पारेको आफ्नो व्यवसायको छाया झल्किन्थ्यो । ‘पहिला रामै्र व्यापार हुुने भएकाले छोरी, छोरा र श्रीमतीले पनि सामान बनाउन सिकेका छन्,’ उनले भने।

व्यापार खस्किए पनि यही उनको जीविकोपार्जनको माध्यम हो । दैनिक घर खर्चदेखि दुुई छोरी र एक छोरालाई पढाउन पनि यसैको आम्दानी प्रयोग गर्नुपर्छ उनलाई । ‘आम्दानीको स्रोत यही एउटा पसल छ,’ उनले भने, ‘जसले गर्दा एक छोरीलाई जापान पठाउन सहयोग पुुग्यो ।’

उनकी श्रीमतीले घरमै बसेर बाँसका सामान बनाउँछिन् । बाँस प्रतिघना दुुई सय ५० रुपैयाँ पर्छ । वार्षिक ४०–५० हजार रुपैयाँबराबरको बाँस खरिद गर्छन् उनले । ‘कच्चा पदार्थ स्वदेशमै पाइने भएकाले पनि बाँसका सामान धेरै महँगा हुुँदैनन्,’ उनले भने, ‘बाँसको अभाव पनि हुुँदैन ।’

बाँसबाट सजावटका नयाँ सामान बनाउन सकेमा उचित मूल्य पाउन सक्ने बुझेका छन् उनले । नयाँ पुुस्ताले पनि बाँसका सामान मन पराउन थालेकामा खुशी छन् । बाँसका पुुराना सामान हराउँदै गए पनि नयाँ सामान भित्र्याउन सकेमा बजार पाउने अनुुमान उनको छ ।
 

प्रकाशित मिति: १०:१० बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्