सरकार र निजी क्षेत्रको सहकार्यमा अर्थतन्त्र चलायमान बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, भदौ १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने बताएका छन्।
महिला उद्यमी महासङ्घको पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेलाको आज (बुधबर) भर्चुअल सम्बोधन गर्दै उन्ले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए।
‘सबै नागरिकलाई चाँडै कोरोना खोप उपलब्ध गराएर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयत्नशील रहेको छ,’ प्रधानमन्त्री देउवाले भने। उनले नेपाली उत्पादनलाई प्रोत्साहन र बजारीकरण गर्न महिला उद्यमी महासंघले खेलेको भूमिकाको उच्च प्रशंसा गरे।
यस्ता मेलाले मुलुकको अर्थतन्त्रलाई थप सबल बनाउन सहयोग पुग्ने उनकाे भनाइ थियो ।
कांग्रेस सभापतिसमेत रहेका उन्ले कोरोनाका कारण नेपालमा उत्पादन भएका सामान बजारसम्म पुग्न नसकेको वर्तमान परिवेशमा सरकारले बजारीकरणलाई विशेष प्राथमिकता दिने उल्लेख गरे। उन्ले भेलाको पूर्ण सफलताको कामनासमेत गरे।
महासंघका अध्यक्ष रीता सिंहले महिला उद्यमीलाई प्रोत्साहन गर्दै महिलालाई आत्मनिर्भरताको बाटामा लैजान मेलाको आयोजना गरिएको जानकारी दिए। महासंघका प्रथम उपाध्यक्ष एवं मेला संयोजकनिरु रायमाझी खत्री, द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीलगायतले नेपालमा उत्पादित कृषि सामग्री र हस्तकलाका सामग्रीलाई अर्थतन्त्रसँग जोड्न उत्रः मेलाको आयोजना गरिएको बताए।
भर्चुअल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, विभिन्न देशका राजदूत तथा महिला उद्यमीको सहभागिता थियो। मेला पाँच दिनसम्म चल्ने महासङ्घले जनाएको छ।











