भारतमा थप ४१ हजार ९ सय ६५ जना कोरोना भाइरस सङ्क्रमित
नयाँ दिल्ली, भदौ १६ : भारतमा कोरोना भाइरसबाट मंगलबार थप ४१ हजार ९ सय ६५ जना सङ्क्रमित भएका छन्। सोही अवधिमा ४ सय ६०...
नयाँ दिल्ली, भदौ १६ : भारतमा कोरोना भाइरसबाट मंगलबार थप ४१ हजार ९ सय ६५ जना सङ्क्रमित भएका छन्।
सोही अवधिमा ४ सय ६० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ। कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म ४ लाख ३९ हजार २० जनाको मृत्यु भएको पनि मन्त्रालय जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभरका सङ्क्रमितमध्ये केरलामा मात्रै ३० हजार २ सय ३ जना सङ्क्रमित भएका अधिकारीले जनाएका छन्। सोही अवधिमा केरलामा १ सय १५ जनाको मृत्यु भएको छ।
अहिलेसम्म कूल ३ करोड १९ लाख ९३ हजार ६ सय ४४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। तीमध्ये ३३ हजार ९ सय ६४ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन्। भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्याको ९७.५१ प्रतिशत कोरोना सङ्क्रमणबाट निको भएका छन्।
भारतमा अहिलेसम्म कूल सङ्क्रमित ३ करोड २७ लाख ६८ हजार ८८० जना पुगेका मन्त्रालयले बुधबार जनाएको छ। कुुल सङ्क्रमितमध्ये ३ लाख ७८ हजार १ सय ८१ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन्। यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१५ प्रतिशत हो।
भारतमाा कोरोना भाइरस शुरु भएदेखि हालसम्म ५२ करोड ३१ लाख ८४ हजार २९३ व्यक्तिलाई कोरोना भाइरसको परिक्षण गरिएको छ। मङ्गलबार एकै दिनमा १६ लाख ६ हजार ७ सय ८५ जना कोरोना परिक्षण भएको समाचारमा जनाइएको छ।
यहाँ गएको जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो। सो समयदेखि हालसम्म ६४ करोड ४१ लाख डोज कोरोनाविरुद्धको खोप लगाइएको समाचारमा जनाइएको छ।
गत अगस्तभर मात्र १८ करोड ३ लाख डोज कोरोनाविरुद्ध खोप लगाइएको सरकारी अधिकारीले जानकारी दिएका छन्।












