अल्मुताइरी भन्छन् : भारतविरुद्ध जित्नैका लागि मैदान उत्रन्छौं

काठमाडौं, भदाै १६ : नेपाली राष्ट्रिय फुटबल टिमले भारतसँग बिहीबार र शनिबार दुई मैत्रीपूर्ण खेल खेल्दैछ।
आसन्न साफ च्याम्यिनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्।
खेलअघि आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्ध नेपाली जित्नैका लागि मैदान उत्रिने बताए। उनले भारतविरुद्ध जित निकाल्न कठिन भएको पनि बताए।
‘भारतविरुद्ध जति निकाल्न निकै कठीन छ। जति हामीलाई कठीन छ, उनीहरुलाई पनि त्यति नै कठिन छ। तथ्यांकमा पनि भारत बलियो छ,’ अल्मुताइरीले भने, ‘हामी पनि नयाँ गोर्खाली हौं, त्यसैले जित्नैका लागि खेल्नेछौं। इतिहास र विपक्षी हेर्दैनौं, नतिजाका खेल्छौं, हाम्रो लक्ष्य जित नै हो।’
प्रिम्याच कन्फ्रेन्समा अल्मुताइरीले फिफा र्याङ्किङ सुधार गर्न पनि नेपालका लागि भारतविरुद्धको खेल महत्वपपूर्ण भएको बताए। यो दुई खेलमा नतिजा राम्रो ल्याउन सके फिफा र्याङ्किङ १० स्थान सुधार्न सकिने उनले बताए।
उनले आफूहरुको मुख्य लक्ष्य साफ च्याम्पियनसिप भएको पनि बताए। उनले भने, ‘हाम्रो मुख्य लक्ष्य नै साफ हो। त्यसका लागि हामीले २ महिनादेखि यतारी गरिरहेका छौं। भारतविरुद्धको खेल हाम्रा लागि शिक्षा लिने ठाउँ हुनेछ।’
यसैगरी नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले भारत बलियो प्रतिद्वन्द्वी भए पनि ऊविरुद्ध खेल्न नेपाली टिम मानसिक र शारीरिक रूपमा तयार भएको बताए। लामो समय तयारी गरेका नतिजा राम्रो निस्कने अपेक्षा उनले गरे।
‘हाम्रो तयारी राम्रो भएको छ, र टिम लयमा पनि छ। त्यसैले भारतविरुद्ध राम्रो नतिजा ल्याउँछौं,’ किरणले भने, ‘अझ घरेलु मैदानमा खेल्दैछौं। हाम्रा लागि यो अवसर हो, यसलाई सदुपयोग गर्छौं।’ उनले साफ नै मुख्य लक्ष्य भएकाले त्यसका लागि भारतविरुद्धको खेल निकै महत्वपूर्ण र फलदायी हुने बताए।
यसैगरी भारतीय टिमका कप्तान सुनिल क्षेत्रीले नेपालसँग खेल्न सधैं कठिन हुने बताए। ‘नेपाल हाम्रा लागि सधैं कठिन प्रतिद्वन्द्वी हो, हामी सक्दो राम्रो प्रयास गर्नेछौं,’ उनले भने। उनले यो महामारीमा पनि आफूहरूलाई खेल्न निमन्त्रण गरेको धन्यवाद दिए।












