संघर्ष समितिले गुठी संस्थानसँग माग्यो सबै जग्गाको विवरण
काठमाडौं, साउन ५ : राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले गुठी संस्थानसँग गुठीको सम्पूर्ण जग्गाको विवरण माग गरेको छ।
....
काठमाडौं, साउन ५ : राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले गुठी संस्थानसँग गुठीको सम्पूर्ण जग्गाको विवरण माग गरेको छ।
समितिले आइतबार त्रिपुरेश्वरस्थित गुठी संस्थानको कार्यालयमा पुगेर गुठीको जग्गाको सम्पूर्ण विवरण उपलब्ध गराउन माग गरेको हो। समितिका संयोजक गणपतिलाल श्रेष्ठ नेतृत्वको समितिले संस्थानका अध्यक्ष मिनराज चौंधरीलाई बुझाएको ज्ञापन पत्रमा गुठीका चल/अचल सम्पत्ति र त्यसको कारोबारको विवरण पनि उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।
गुठीको जग्गा तथा चल/अचल सम्पत्ति व्यक्तिले आफ्नो नाममा ल्याएर भोग चलन गरिरहेको समाचार बाहिर आउन थालेपछि समितिले त्यसको सम्पूर्ण विवरण उपलब्ध गराउन गुठी संस्थानसँग माग गरेको हो। गुठीको जग्गासहितका चल/अचल सम्पत्तिको सम्पूर्ण विवरण गुठी संस्थानसँग माग गरिएको समितिका संयोजक श्रेष्ठले बताए। गुठीको सम्पत्तिको संरक्षण गर्न पनि समितिले गुठी संस्थानसँग जग्गाको विवरण माग गर्नु परेको श्रेष्ठले बताए।
गुठी संस्थानका अध्यक्ष चौधरीले कार्यालयमा उपलब्ध भएको गुठीको सम्पत्तिको सम्पूर्ण वितरण समितिलाई बुझाउने प्रतिवद्धता व्यक्त गरेका थिए। उनले ६९ वटा जिल्लामा गुठीहरु रहेकाले त्यसको तथ्यांक संकलन गर्न भने केही समय लाग्ने पनि स्पष्ट पारेका थिए।
समितिका संयोजक श्रेष्ठले गुठी संस्थानलाई गुठीको जात्रा, पर्वमा दिने गरेको खर्चको विवरण पनि माग गरिएको जानकारी दिए।

-1784896419.png)









