एक अर्ब लगानीमा ‘पटिहानी रिसोर्ट’ सञ्चालनको तयारी
चितवन, भदौ १६ : पर्यटकीय नगरी चितवनको पटिहानीमा एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ।भरतपुर महानगरपालिका–२२ राप्ती नदी...
चितवन, भदौ १६ : पर्यटकीय नगरी चितवनको पटिहानीमा एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ।
भरतपुर महानगरपालिका–२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ। रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार चितवनसहित देशभरका २२ व्यवसायीका लगानीमा निर्माण गरिएको हो। हालसम्म ७५ करोड लगानी भइसकेको जनाउँदै उनले सबै काम सम्पन्न गर्दा एक अर्ब हाराहानी खर्च हुने बताए।
रिसोर्टमा सात अत्याधुनिक भिल्ला छन्। यीमध्ये दुई भिल्लामा पौडीपोखरीसमेत रहने जनाइएको छ। दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलन आयोजना गर्दा राष्ट्रप्रमुख बस्न मिल्ने गरी यी भिल्ला बनाइएको उनले जानकारी दिए।
सुरक्षा र सुविधासम्पन्न यी भिल्लामा अत्याधुनिक सुविधा रहेको छ। एउटै भिल्लाको एक दिनको एक हजार डलर लिने गरी सुविधासम्पन्न बनाइएको निर्देशक न्यौपानेले जानकारी दिए।
रिसोर्टमा अन्य ५२ कोठा छन्। पाँच सय अट्ने एक, १५० अट्ने दुई र १०० अट्ने चारवटा हल छन्। रेष्टुरेन्टमा ५०० ले एकपटक बसेर खान सक्ने सुविधा छ।
छुट्टै २५० अट्ने सुविधासम्पन्न बार पनि छ। होटलमा क्यासिनोका लागि अलग्गै भवन रहेको छ भने पौडीपोखरी, क्यासिनो र होटलको बीचमा रहेको छ।
बगैँचा र पौडीपोखरी पार्टीका लागि व्यवस्थित बनाइएको छ। पाँच बिघा १० कठ्ठा जमिनमा निर्मित रिसोर्टको बीचबाट सार्वजनिक बाटो भएकाले बाटोमुनिबाट आवतजावतका लागि अण्डरपासको व्यवस्था गरिएको छ। टाढैबाट हेर्दा आकर्षक देखिने न्यूजील्याण्डको टायल डेक्क्राको छानो होटलमा छ।
धेरै जमिन भएकाले तरकारी, फलफूल आफैँ उत्पादन गरिने जनाइएको छ। जिल्लाको सबैभन्दा धेरै लगानीमा खुलेको सुविधासम्पन्न रिसोर्ट भएको उनले बताए।
मुख्यरूपमा विदेशी पर्यटकलाई लक्ष्य गरी बनाइएको रिसोर्ट नजिकै हात्ती चढेर सामुदायिक वन घुम्ने सुविधा छ। यस रिसोर्टका सञ्चालकसमेत रहेका भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णु महतोले आफ्नो वडामा ६ वटा सुविधासम्पन्न होटल पुगेको बताए। ती होटलमा पाँच अर्बभन्दा बढी लगानी भएको उनको अनुमान छ। ठूला होटलमा मात्रै ३०० जनाको क्षमता रहेको छ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै रहेको यस क्षेत्रमा २५ साना होटल छन्। जहाँ थप ३०० जनाको क्षमता छ। उनले रिसोर्ट बनेसँगै यस क्षेत्रमा ठूला कार्यक्रमसमेत सञ्चालन गर्न सकिने बताए। (रासस)











