एकीकृत समाजवादीको जिल्ला र महानगर कमिटी गठन
पोखरा, भदौ १६ : नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बाट विभाजित बनेर दर्ता भएको नेकपा (एकीकृत समाजवादी) पार्टीले कास्की जिल्ला र पोखरा महानगर कमिटी गठन...
पोखरा, भदौ १६ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विभाजित बनेर दर्ता भएको नेकपा (एकीकृत समाजवादी) पार्टीले कास्की जिल्ला र पोखरा महानगर कमिटी गठन गरेको छ।
अध्यक्ष माधवकुमार नेपाल पक्षले यसअघि गठन गरेको एमालेको समानान्तर जिल्ला र महानगर कमिटीको संयुक्त बैठक बसेर एकीकृत समाजवादी पार्टीमा रूपान्तरण भएको हो। धनराज आचार्यको अध्यक्षतामा १८५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ।
त्यस्तै, मुक्तिनाथ पौडेलको नेतृत्वमा १४१ सदस्सीय महानगर कमिटी गठन गरिएको पार्टीका युवानेता पूर्ण लामाले जानकारी दिए। जिल्ला कमिटीको सचिवमा होम नेपाली चयन भएका छन्।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, चूडामणि जङ्गली, शारदाप्रसाद सुवेदी र श्रीनाथ बरालको उपस्थितिमा कमिटी घोषणा गरिएको हो। पार्टी केन्द्रीय सदस्य गुरुङले सिद्धान्तको कार्यान्वयन र वैचारिकरूपमै मतभेद भएका कारण एमालेबाट विद्रोह गर्नुपरेको बताए।
एमालेमा पदका लागि विद्रोह गरिएको नभई कम्युनिष्ट मूल्य, मान्यताभन्दा बलमिच्याइँले अगाडि बढ्ने काम भएको र त्यागी, इमान्दार कार्यकर्ताको संरक्षण नहुने अवस्था आएकाले कम्युनिष्ट आन्दोलन सही ढङ्गले हाँक्न र जनताको सेवा गर्नका लागि विद्रोह गरिएको उनको भनाइ थियो।
जिल्ला अध्यक्ष आचार्यले यही भदौ १८ देखि २१ गतेभित्र जिल्लाका सबै स्थानीय तह र वडामा पार्टी कमिटी गठन गरिने जानकारी दिए।











