साउन पहिलो साता सकिनै लाग्दा आधाभन्दा बढी खेत बाँझै
काठमाडौं, साउन ५ : साउन पहिलो साता सकिनै लागेको छ। देशभरका खेत रोपाइले हराभरा हुनुपर्ने हो। तर, यो वर्ष भने आधाभन्दा बढी खेत बाँझै रहेका छन्।
<....
काठमाडौं, साउन ५ : साउन पहिलो साता सकिनै लागेको छ। देशभरका खेत रोपाइले हराभरा हुनुपर्ने हो। तर, यो वर्ष भने आधाभन्दा बढी खेत बाँझै रहेका छन्।
कृषि मन्त्रालयका अनुसार, आइतबारसम्म देशभर ४० प्रतिशतमात्रै रोपाइँ भएको छ। गत वर्ष असार मसान्तमै ७० प्रतिशत रोपाइँ भएको थियो। यस वर्ष साउन महिनाभरी पनि पूरै खेतमा रोपाइँ हुनसक्ने देखिएको छैन। कृषि मन्त्रालयले साउन भरी ६० देखि ७० प्रतिशत रोपाइँ हुने अनुमान गरेको छ।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रोपाइँ भएको छ। अहिलेसम्म ६९ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ। गत वर्ष ८० प्रतिशत रोपाइँ भएको थियो। धानको भण्डार प्रदेश २ मा भने सबैभन्दा कम रोपाइँ भएको छ। मन्त्रालयका अनुसार, अहिलेसम्म १६.६३ प्रतिशत मात्रै रोपाइ भएको छ। जबकी गत वर्ष ६४.६१ प्रतिशत रोपाइँ भएको थियो।
यो वर्ष गण्डकी प्रदेशमा रोपाइँ राम्रो भएको छ। गत वर्षभन्दा पनि बढी रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ। यो अवधिमा गत वर्ष ६५ प्रतिशत रोपाइँ भएको थियो भने यो वर्ष ६७.४० प्रतिशत पुगेको छ।
दोस्रो नम्बरमा कर्णाली प्रदेश छ। कर्णालीमा अहिलेसम्म ६७.८३ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष ६९.९३ प्रतिशत रोपाइँ भएको थियो। धान उत्पादनका दृष्टिले राम्रो मानिएको प्रदेश ५ पनि रोपाइँ सन्तोषजनक छैन। अहिलेसम्म ४७.८४ प्रतिशत मात्रै रोपाइँ भएको छ। गत वर्ष भने अहिलेसम्म ६६.३९ प्रतिशत रोपाइँ भइसकेको थियो।
पूर्व तराईका पनि धान उत्पादनको केन्द्र हुन्। तर, प्रदेश १ मा पनि रोपाइँ न्यून क्षेत्रमा मात्रै भएको छ। कृषि मन्त्रालयका अनुसार, अहिलेसम्म ३६.०७ प्रतिशत मात्रै रोपाइँ भएको छ। जबकि गत वर्ष ५३.३९ प्रतिशत रोपाइँ भएको थियो।
त्यस्तै, प्रदेश ३ मा पनि रोपाइको दर न्यून नै छ। अहिलेसम्म ३१.०३ प्रतिशत मात्रै रोपाइँ भएको छ। गत वर्ष यो समयमा ६२.२७ प्रतिशत रोपाइँ भएको थियो। यस वर्ष पानी ढिला परेकाले रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ। यसको असर धान उत्पादनमा पर्नेछ। गत वर्ष भन्दा यस वर्ष धानको उत्पादन घट्ने मन्त्रालयको अनुमान छ।












