नेपाल एयरलान्सका पाइलटको तलब ५६ रुपैयाँ!
काठमाडौं, साउन ५ : नेपाल वायुसेवा निगमका पाइलट तथा इन्जिनियहरूले जेठ र असारको तलब एक सय रुपैयाँभन्दा कम बुझेका छन्। निगमको व्यवस्थापन कति भद्रगोल छ भन....
काठमाडौं, साउन ५ : नेपाल वायुसेवा निगमका पाइलट तथा इन्जिनियहरूले जेठ र असारको तलब एक सय रुपैयाँभन्दा कम बुझेका छन्। निगमको व्यवस्थापन कति भद्रगोल छ भन्ने पछिल्लो समय पाइलटहरूले पाएको तलबले पनि देखाउछ।
निगमको नेतृत्वदेखि फाइनान्स विभागले सामान्य कुरा पनि सुधार गर्न नसक्दा प्रत्येक वर्ष पाइलट, इन्जिनियर तथा अन्य कर्मचारीहरू मर्कामा पर्दै आएका छन्। १२ महिनाको करको हिसाब जेठ र असारमा मात्रै गर्ने भएकाले अधिकांश कर्मचारीहरू दुई महिना तलबविहीन हुने गरेका छन्।
निगमले कर्मचारीको आय कर कट्टा गर्र्दा प्रत्येक वर्ष एकमुष्टमा गर्ने गरेको छ। यस वर्ष पनि जेठ र असारमा पाइलट तथा कर्मचारीहरूको तलव प्रायः शूल्य भएको छ। साउनदेखि करको हिसाब हुनु पर्नेमा अन्तिममा गएर कर कटाउँदा पाइलट तथा इन्जिनियरहरूको तलव शून्य भएको छ।
एक उदारणका हुन नेपाल वायुसेवा निगमका वरिष्ट पाइलट श्रवण रिजाल। रिजालको असारमात्रै चार लाख ६९ हजार ६ सय ४५ रुपैयाँ कर कट्टी गरिएको छ र त्यस्तैगरी जेठमा ६ लाख १४ हजार दुई सय ८८ रुपैयाँ करकट्टी गरिएको छ।
उनले केही दिन अगाडि फेसबुकमा आफ्नो तलब विवरण सार्वजनिक गर्दै जेठको ५६ रुपैयाँ तलव बुझेको र असारको शून्य तलब आएको छ। रिजालले जेठको तलव असारमा बुझ्दा ५६ रुपैयाँ मात्रै बुझेका थिए भने असारको साउनमा तलब बुझ्दा शून्य रहेको छ।
रिजाल जस्ता सयौ कर्मचारीहरू यतिवेला शून्य रुपैयाँ तलब बुझेका छन्। समयमै करको हिसाव गरेर मासिक रुपमा कट्टा गर्न नसक्दा प्रत्येक वर्ष समस्या आउने गरेको छ।
करको हिसाव समयमा गरेर कटौति नगर्दा दुई महिना कर्मचारीहरु तलबविहीन हुने गरेका छन्। अपरेसन र फाइनाइन्स विभागले राम्ररी तथ्यांक राख्ने हो भने प्रत्येक दिन हिसाव गर्न सकिने र मासिक रुपमा नसके पनि तीन महिनामा करको कट्टी गर्न सकिने कर्मचारीहरू बताउँछन्।
तर नेपाल वायुसेवा निगमका प्रवक्त गणेशबहादुर चन्द भने लामो समय ओभर टाइम गर्ने भएकोले हिसाव गर्न ढिला हुदाँ अन्तिममा कर कट्टा भएको बताउँछन् । ‘उनीहरूको उडानको समयको आधारमा तलब हिसाव हुने गर्दछ, त्यसैले प्रत्येक महिना असम्भव भएको हो,’ प्रवक्ता चन्दले भने।
उनीहरूको खास आम्दानी कति हो भन्ने कुरा अन्तिममा मात्रै थाहा पाइने भएकाले पनि समस्या आएको चन्दको भनाइ छ। निगममा कार्यालय सहयोगीदेखि सिनियर कर्मचारीसम्म गरेर एक हजार दुई सयभन्दा बढी कर्मचारी छन्।






