Kathmandu Press

पाँच वर्षदेखि न्याय पर्खिरहेको छ अजित मिजारको शव

काभ्रे पाँचखाल–७ का अजित ढकाल (मिजार) को शव पाँच वर्षदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा अलपत्र छ। परिवारले उनको अन्तिम संस्कार कहिले गर्न पाउने हो, कुनै ठेगान छैन।
पाँच वर्षदेखि न्याय पर्खिरहेको छ अजित मिजारको शव

काठमाडौं, भदौ १५ : काभ्रे पाँचखाल नगरपालिका–७ का अजित ढकाल (मिजार) को शव विगत पाँच वर्षदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा अलपत्र छ। परिवारले उनको अन्तिम संस्कार कहिले गर्न पाउने हो, कुनै ठेगान छैन।

३० असार ०७३ मा धादिङ गजुरीमा उनको शव झुन्डिएको अवस्थामा भेटिएको बताइएको थियो। अन्तर्जातीय विवाह गरेका अजितको हत्या भएको भन्दै परिवारले किटानी जाहेरी दिएको थियो। अहिले उच्च अदालत पाटनमा त्यससम्बन्धी मुद्दा विचाराधीन छ। अर्थात्, अजितको शवले पाँच वर्षदेखि न्याय पर्खिरहेको छ।

अजित ०७१ सालदेखि पाँचखालनजिकै ज्याम्दीकी पराजुली थरकी किशोरीसँग प्रेममा परेका थिए। दुई वर्षपछि २५ असार ०७३ मा उनीहरूले प्रेम विवाह गरे। केटी पक्षबाट उमेर नपुगेको देखाई उनीहरूको जोडी छुट्याइयो। त्यसको भोलिपल्ट २९ असार ०७३ मा घरबाट तामाघाट बजार जान निस्किएका अजित घर फर्केनन्, उनको शव धादिङमा भेटियो।

Hardik ivf

अन्तर्जातीय प्रेमकै कारण अजितले ज्यान गुमाउनुपरेको परिवारको दाबी छ। अजितका बुवा हरिभक्त भन्छन्, ‘न्याय खोज्दाखोज्दै पाँच वर्ष बित्यो। अजितको हत्या नै हो भन्ने हजारौँ प्रश्न छन्। तर, ठोस प्रमाण नभएको भन्दै न्याय पाइएको छैन।’

हरिभक्तका अनुसार २९ असार ०७३ मा उनको घरमा अन्जान व्यक्ति आएर ‘अजित कहाँ छ’ भन्दै सोधिरहेका थिए। सोही दिन मोबाइलको चार्जर किन्न आमासँग एक सय रुपैयाँ मागेर अजित तामाघाट बजारतिर निस्केका थिए। ‘पैसा नभएको व्यक्ति कसरी सोही दिन धादिङ पुग्यो ? प्रहरीले शव एक दिनमै गाडेको थियो, किन ? शवमा एसिड प्रयोग गरिएको जस्तो देखिएको थियो, कसरी ? धेरै प्रश्न छन्,’ हरिभक्त भन्छन्।

पाँच वर्षदेखि हरिभक्तले कहिले धादिङ त कहिले काठमाडौं धाइरहेका छन्। अजितको परिवारको किटानी जाहेरीपछि प्रहरीले उनकी प्रेमिकाका बुवा भोजराज पराजुली, दिदी सम्झना र काका पर्ने टेकबहादुरलाई पक्राउ गरेको थियो। तर, वस्तुनिष्ठ प्रमाण नपुगेको भन्दै जिल्ला अदालत धादिङबाट उनीहरूलाई २० जेठ ०७७ मा सफाइ दिइयो। अहिले उच्च अदालत पाटनमा मुद्दा विचाराधीन छ।

‘दुवै पक्ष राखेर शवको पोस्टमार्टम गरियोस् भन्ने हाम्रो माग हो,’ हरिभक्त भन्छन्, ‘हाम्रो मागअनुसार एकपल्ट पाटन अदालतलको आदेशमा पोस्टमार्टम गरिएको छ। तर, पीडक पक्ष मात्र राखेर पोस्टमार्टम गरियो। अब दुवै पक्ष राखेर पोस्टमार्टम गर्दा आउने रिपोर्टलाई आधार मानेर अदालतले दिएको निर्णय मान्छौँ।’

पाँच वर्षदेखि घरमा धुुप बालिएको छैन, परिवारले कुुनै चाडपर्व मनाउँदैन। अब गरिब तथा निम्न वर्गका लागि सरकार र कानून छैन भनेर चित्त बुुझाउने उनको भनाइ छ। अधिवक्ता मोहन साशंकर अजितको घटनामा विभिन्न तहबाट छानविन भएको र हरेकपल्टको छानविन समितिले अजितको आत्महत्या नभई हत्या भएको प्रतिवेदन बुझाएको बताउँछन्। उनी भन्छन्, ‘तर, अनुसन्धान तथा पोस्टमार्टम रिपोर्टमा त्रुटि भएका कारण न्याय पछाडि धकेलिएको हो।’

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. तुलसी कँडेलका अनुसार शव राखेको एक दिनको शुल्क एक हजार रुपैयाँ लाग्छ। ‘व्यवस्थापन कठिन भएका कारण शव उठाउन अनुरोध गर्दै आएका छौँ,’ उनले भने, ‘राजनीतिक र सामाजिक दबाबका कारण शव राखिरहेका हौँ।’

अजितका बाबु हरिभक्तका अनुसार अस्पतालमा लागेको शुुल्क राष्ट्रिय दलित आयोगले तिरिदिने भनेको छ।

अभियन्ता क्रिस सुनार अजितको हत्यामा अनेकौँ प्रश्न रहेको बताउँछन्। थानकोटसमेत नकटेका र खल्तिमा पैसामा पनि नभएका अजित गजुरीसम्म कसरी पुगे भन्ने मुख्य प्रश्न रहेको उनी बताउँछन्। यदि उनले आत्महत्या गरेको भए झुन्डिनेभन्दा त्रिशुलीमा हाम फाल्न सक्थे। त्यसैले घटना रहस्यमय भएको उनको ठहर छ।

जिल्ला प्रशासन, काभ्रेकै अघिल्तिर उनकी प्रेमिकाकी आफन्त कल्पना पराजुलीले ज्यान मार्ने धम्की दिनु र उनी मृत भेटिनु संयोग मात्र हुन नसक्ने भन्दै अभियन्ताहरूले प्रश्न उठाउँदै आएका छन्। पराजुलीले धम्की दिएको तेस्रो दिन अजित मृत भेटिएका थिए।

प्रकाशित मिति: ०८:५२ बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्