२० वर्षपछि अफगानिस्तानबाट फर्कियो अमेरिकी सेना
काठमाडौं, भदौ १५ : अमेरिकी सेना २० वर्षपछि अफगानिस्तानबाट फिर्ता भएको छ।गएराति अन्तिम उद्धार उडानमार्फत अमेरिकी सेनाको टोलीले काबुल छोडेको छ। काबुलस्थित अमेरिकी...
काठमाडौं, भदौ १५ : अमेरिकी सेना २० वर्षपछि अफगानिस्तानबाट फिर्ता भएको छ।
गएराति अन्तिम उद्धार उडानमार्फत अमेरिकी सेनाको टोलीले काबुल छोडेको छ। काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा अमेरिका फर्किएका छन्।
अमेरिकी सेनाको फिर्ती अभियानको सुपरिवेक्षण गरेका जनेरल फ्र्याङ्क मकेन्जीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुराकानी गर्दै पछिल्लो केही सातामा ८० हजार जनाको उद्धार गरिएको बताएका छन्। उनका अनुसार गएराति हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट सी सेभेन्टिन विमान उडेको छ।
यससँगै अफगानिस्तानबाट उद्धारको काम सकिएको छ। त्यस्तै, २० वर्ष लामो अफगान मिसन पनि सकिएको छ।
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा आतंकवादी हमाल भएपछि अमेरिकी सेना ओसामा विन लादेन र उनका सहयोगीमाथि कारबाही गर्न अफगानिस्तान पसेको थियो। त्यसयता अमेरिकाले अफगानिस्तानमा दुई हजार चार सय सुरक्षाकर्मी गुमाउनु परेको छ।
अन्तिम अमेरिकी विमान बाहिरिएसँगै तालिबानले काबुल विमानस्थल कब्जामा लिएको छ। उनीहरुले गए राति नै आकाशमा गोली चलाएर खुशीयाली मनाएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले यसअघि नै अगष्ट ३१ भित्र अफगानस्तिानबाट अमेरिकाबाट सेना फिर्ता गर्ने बताएका थिए।












